चितवन विशेष
भरतपुरमा सुरक्षित वैदेशिक रोजगारीका लागि प्रहरी–सरोकारवालाबीच अन्तरक्रिया

चितवन, असार १७-
भरतपुर महानगरपालिकाको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजनामा वैदेशिक रोजगारीका सवालमा सहजीकरण गर्ने उद्देश्यले प्रहरीसहित विभिन्न सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका व्यक्तिहरूको संरक्षण र सहयोगका लागि संघ, प्रदेश र स्थानीय गरी तीनवटै सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले महिला तथा बालबालिकाका लागि मनोसामाजिक परामर्शको आवश्यकता रहेको उल्लेख गर्दै वैदेशिक रोजगार विभागले सहजीकरणको भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
उहाँले जिल्ला प्रहरी कार्यालयमा आउने वैदेशिक रोजगारीसँग सम्बन्धित उजुरी तथा मुद्दालाई सुरक्षित आप्रवासन कार्यक्रमसँग जोड्न सकिए समस्यामा परेका श्रमिकलाई थप प्रभावकारी सहयोग गर्न सकिने धारणा समेत राख्नुभयो । समुदाय र नागरिकसँग साझेदारीमा काम गर्न सके वैदेशिक रोजगारीका समस्या समाधान गर्न सहज हुने उहाँको विश्वास थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामेश्वर पौडेलले वैदेशिक रोजगारीका क्रममा समस्या परेपछि धेरैजसो नागरिक अन्तिम आशाका रूपमा प्रशासन कार्यालय र प्रहरीसमक्ष आउने गरेको बताउनुभयो । वैदेशिक रोजगारीमा जानुअघि प्रहरीले आवश्यक सोधपुछ गर्दा कतिपयले प्रहरीलाई नकारात्मक रूपमा लिने गरे पनि ठगीमा परेपछि सहयोगका लागि प्रहरीकहाँ नै आउने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका व्यक्तिहरूले प्रमाण सुरक्षित राख्नुपर्नेमा विशेष जोड दिनुभयो ।
भरतपुर महानगरपालिकाको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख तथा वरिष्ठ महिला विकास अधिकृत शुशिला वाग्लेले महानगरपालिकाले सुरक्षित वैदेशिक रोजगारीलाई प्राथमिकतामा राख्दै नीतिगत कार्यक्रम सञ्चालन गरिरहेको जानकारी समेत गराउनुभयो । नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान रहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आवश्यक रहेको उहाँको भनाई थियो । कार्यक्रममा उहाँले पासपोर्ट बनाउने चरणमै वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आवश्यक परामर्श प्रदान गर्नुपर्ने र अन्तर्राष्ट्रिय विमानस्थलमार्फत कानुनी प्रक्रिया पूरा गरेर विदेश गए ठगीबाट जोगिन सकिने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमको उद्देश्यबारे सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका संयोजक सूर्य पौडेलले प्रकाश पार्दै वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रमको सहजिकरण गैर सरकारी संस्था समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख पंचमायाँ तामाङले गर्नुभएको थियो ।



























