चितवन विशेष
नारायणगढ लेडी जेसीजकी अध्यक्ष संगीता थापामगरद्धारा पदभार ग्रहण

चितवन, असार १६-
नारायणगढ लेडी जेसीजको २९औँ पदहस्तान्तरण भएको छ । ३०औँ स्थापना दिवसको अवसरमा वर्ष २०२५ की अध्यक्ष एलीना श्रेष्ठले वर्ष २०२६ की अध्यक्ष संगीता थापा मगरलाई पद हस्तान्तरण गर्नुभएको छ। सोमबार चितवनस्थित होटल सिराइचुलीमा आयोजित विशेष समारोहमा नयाँ कार्यसमितिलाई पदस्थापना गरिएको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष एलीना श्रेष्ठले आफ्नो कार्यकालमा संस्थाको उद्देश्यअनुसार विभिन्न सामाजिक तथा नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्न सक्दो प्रयास गरेको बताउँदै नयाँ नेतृत्वले अझ प्रभावकारी ढंगले संस्थालाई अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो।
पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष संगीता थापा मगरले विगतका अनुभवबाट सिक्दै संस्थाका कमजोरी सुधार गरी नारायणगढ लेडी जेसीजलाई अझ सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संस्थाको लक्ष्य प्राप्तिका लागि सबै पूर्वअध्यक्ष, सदस्य तथा शुभेच्छुकहरूको साथ र सहयोग आवश्यक रहने बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका–१ का वडा अध्यक्ष केशव महर्जनले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले बिगतमा नारायणगढ लेडी जेसीजसंग वडाले बिभिन्न कार्यक्रमहरुमा सहकार्य गरेको सम्झनुभयो । साथै उहाँले विगतमा जस्तै आगामी दिनमा पनि वडाको तर्फबाट आवश्यक सहकार्य रहने प्रतिबद्धता जनाउनुभयो। अध्यक्ष महर्जनले नयाँ नेतृत्वले विभिन्न चुनौतीहरूको सामना गर्दै उदाहरणीय कार्यसम्पादन गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि पूर्व सांसद रिना गुरुङले लेडी जेसीजमा आबद्ध महिलाहरूलाई नेतृत्व विकाससँगै विभिन्न सामाजिक, प्रशासनिक तथा राजनीतिक क्षेत्रमा समेत सक्रिय र सक्षम भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। कार्यक्रममा नारायणगढ जेसीजका अध्यक्ष सन्तोष पण्डितले नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाले आगामी दिनमा महिला नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवाका क्षेत्रमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।
राष्ट्रिय उपभोक्ता संरक्षण समिति चितवनका अध्यक्ष जीवलाल पुरी, नारायणगढ लेडी जेसीजका पूर्व अध्यक्षहरू, निवर्तमान तथा नवनिर्वाचित कार्यसमिति सदस्यहरू, साथै संस्थाका सदस्य एवं शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

























