चितवन विशेष
चितवनमा मेसिनबाट धान रोपेर २३ औँ राष्ट्रिय धान दिवस मनाइँदै

चितवन, असार १४-
चितवनमा सोमबार आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहान गर्ने उद्देश्यले मेसिनबाट धान रोपेर २३ औैँ राष्ट्रिय धान दिवस तथा रोपाइ्ँ महोत्सव मनाइने भएको छ । जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई चितवन र खैरहनी–१०मा रहेको महिला साना किसान कृषि सहकारी संस्था संयुक्त आयोजनामा धान दिवस मनाउन लागिएको हो ।
महिला साना किसान कृषि सहकारी संस्थाको परिसरमा हुने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख तथा विशिष्ट व्यक्तिबाट धान रोपाइँ गरिने राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिए । कार्यक्रम भोली बिहान सात बजेदेखि सुरु हुनेछ । भोली हुने कार्यक्रम अन्तरगत धान रोप्ने मेसिनको प्रयोग मार्फत धान रोपाइँको प्रदर्शन गरिने, कृषकलाई आधुनिक कृषि प्रविधिबारे जानकारी दिने उद्देश्यले महिला समूहसँग मिलेर कार्यक्रमको आयोजना गरिएको कार्यालय प्रमुख समेत रहेका रेग्मीले बताए ।
चितवन धान उत्पादनको प्रमुख जिल्ला समेत हो । यहाँ चालु आर्थिक वर्षमा २७ हजार ३२५ हेक्टर क्षेत्रफलमा बर्षे धान खेती भएको थियो । चितवनमा धान खेतीमा यान्त्रीकरणको समेत बढ्दो प्रयोग छ । अहिलेसम्म जिल्लामा १४ वटा धान रोप्ने मेसिन छन् । त्यसमध्ये राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनले १३ वटा मेसिनमा ८५ प्रतिशत अनुदान दिएको छ । कठारको महिला साना किसान कृषि सहकारी संस्थामा मात्रै दुई वटा मेसिन छन् । मेसिन भएपछि धान रोप्न सहज भएको संस्थाकी अध्यक्ष गिता केसी बताउँछिन् । भोलि मेसिन र हात दुवैले धान रोपेर धान दिवस मनाउने तयारी समेत गरेको उनले बताइन् । यसका लागि १० कठ्ठाको खेत तयारी अवस्थामा राखेको उनले बताइन् । ‘मेसिनबाट धान रोप्दा एक विघामा कम्तिमा पनि ५ हजार फाइदा हुन्छ,’ उनले खर्चको विवरण बताउँदै भनिन् ‘मेसिनबाट रोप्दा बिऊ समेत कम लाग्छ ।’ चितवनमा धान रोप्ने मानिस पाइन छाडेकाले मेसिन खरिद गरेको उनले बताइन् । संस्थामा २ हजारभन्दा बढी महिला किसान आवद्ध रहेका छन् । उनीहरुले मात्र यस वर्ष ४० विघाभन्दा बढी क्षेत्रमा मेसिनबाट धान रोप्ने तयारी गरेको केसीले बताइन् ।


























