देश/प्रदेश

भिई गुरु देवताको प्रचार–प्रसार नहुँदा ओझेलमा, धार्मिक विश्वास कायमै

Banner

दान बहादुर बुढा,

मुगु, असार १०

हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका वडा नम्बर ३ मा रहेको भिई गुरु देवता र आसपासका धार्मिक क्षेत्रहरू पर्याप्त प्रचार–प्रसारको अभावमा ओझेलमा परेका छन् ।

सरकारी निकाय र अदालतबाट समेत न्याय नपाएका मानिसहरूले यस देवताबाट न्याय पाउने र आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ ।

भिई गाउँमा गुरु देवताको साथै धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेका अन्य दुई दर्जन भन्दा बढी देवी–देवताका मठ, मन्दिर, थान, चौतारा र धार्मिक स्थलहरू रहेका छन्, जुन अझै पनि ओझेलमा छन् ।

ऐतिहासिक पृष्ठभूमि र जन विश्वास स्थानीय बूढापाकाहरूका अनुसार मुगुको भिई गाउँमा मानव बस्ती स्थापना हुँदाकै बखत गुरु देवता कैलाश मानसरोवरबाट आएर बास बसेको भनाइ रही आएको छ ।

त्यतिबेला देशमा सरकारी अड्डा, अदालत र प्रहरी चौकीहरू थिएनन् । गाउँमा हुने जग्गा–जमिनको विवाद, झै–झगडा, अन्याय र अत्याचारका मुद्दाहरूको छिनोफानो र न्याय दिने काम गुरु देवताले नै गर्ने गरेको स्थानीयको भनाइ छ ।

सातौँ शताब्दीमा स्थापना भएको र तेह्रौँ शताब्दीमा ९धाराको० कृषियान र हिन्दु धर्मका देवताहरूबीच तथा धामी–डाँग्रीहरूबीच ठूलो लडाइँ भएको इतिहास छ ।

उक्त लडाइँमा गुरु देवताको विजय भएपछि, विशेष गरी जग्गा–जमिन सम्बन्धी मुद्दाहरूको छिनो फानो गर्ने मुख्य शक्तिका रूपमा यिनलाई पुग्न थालियो ।

यही धार्मिक विश्वासका कारण आज पनि कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालिकोट, बाजुरा तथा बझाङदेखिका मानिसहरू जग्गा विवाद र अन्य विषयमा न्याय माग्न यहाँ आउने गर्दछन् ।

‘माटोको धनी’ देवता र नवमी मेलाको महिमा स्थानीयबासी डिल बहादुर धामीका अनुसार, गुरु देवतालाई माटो सम्बन्धी विषयको ‘राजा’ वा ‘माटोको धनी देवता’ मानिन्छ ।

किम्वदन्ती अनुसार ३३ कोटी देवताहरू ‘हिल्सा चौरको टाँके’ भन्ने ठाउँमा जाँदा गुरु देवतापछि परेको र अगाडि पुगेका ३२ वटा देवताहरूले टाँके लेखमा रहेका ‘विजैरी फूल’ र १२ महिनामा मनाइने १२ वटा पूर्णिमाको भागबन्डा गरिसकेका थिए ।

पछि आइपुगेका गुरु देवतालाई कुन भाग दिने भन्ने छलफल हुँदा उनलाई ‘औंसी पूर्णिमाको नवमी मेला’ को भाग दिइयो । त्यसपछि गुरु देवताले कान सफा गर्ने कनसुनोमा माटो समेत मागेकाले अहिले भिई मुगुको यी देवतालाई माटोको मालिक वा धनी देवताका रूपमा चिनिन्छ ।

यहाँ विशेषगरी वैशाख र साउन पूर्णिमामा साना पूजाहरू हुने गरे पनि सबैभन्दा ठूलो मेला नवमीमा लाग्ने गर्दछ । उक्त मेलामा हुम्ला, जुम्ला, बाजुरा, दैलेख, अछाम र कालिकोटका हजारौँ स्थानीय बासिन्दाहरूको ठूलो भेला लाग्छ। सरकारी कार्यालय वा अदालतको फैसलाबाट चित्त नबुझेका मानिसहरू न्याय पाउन, सन्तान नभएकाहरू सन्तानको वर माग्न तथा अन्न र पशु चौपायाको समृद्धि माग्न यहाँ आउँछन् ।

देवताको आर्शिवाद र वर पाइसकेपछि खुसी भएर भक्तजनहरूले कोसेली, उपहारका साथै खसी–बोका बलि चढाउन ल्याउने गर्दछन् । भिई गाउँका स्थानीयहरूले यहाँ आउने भक्तजनहरूलाई देवताको प्रसाद दिएर खुसी बनाएर पठाउने गरेका छन् ।

भौतिक पूर्वाधार विकास र प्रवद्र्धनको प्रयासस्थानीय पुजारी टोप बहादुर शाही र स्थानीय पर्या धामीका अनुसार, मुगुको भिई गुरु देवताको अन्य देवी–देवताको तुलनामा छुट्टै र विशेष विशेषता रहेको बताएका छन ।

सरकारी निकायबाट न्याय नपाएका स्थानीयहरूले गुरु देवताबाट न्याय पाएका धेरै उदाहरण र प्रमाणहरू छन्।यस क्षेत्रको धार्मिक महत्त्वलाई बुझेर पछिल्लो समय प्रदेश सरकार, सङ्घीय सरकार र स्थानीय सरकारको आर्थिक सहयोगमा केही भौतिक पूर्वाधारका कामहरू सुरु भएका छन्।

भक्तजनहरू बस्नका लागि चौतारा, मन्दिर ९माडु० को निर्माण तथा दुमुखदेखि भिई गाउँसम्म पुग्ने पदमार्गको व्यवस्था भइरहेको छ ।

प्रत्येक वर्ष लाग्ने नवमी मेलाको अवसरमा यहाँ विशेषगरी देवताको पञ्चेबाजा, दमाहा, बन्जुर बजाउने तथा स्थानीय भेषभूषा, कला र संस्कृति झल्किने देउडा खेल र भलिबल प्रतियोगिता जस्ता खेलकुदको समेत आयोजना गर्ने गरिएको छ ।

स्थानीय वडा सरकारको प्रतिबद्धताभिई गाउँ आसपासको क्षेत्रमा एक दर्जनभन्दा बढी देवी–देवताहरूको बासस्थान रहेको र यो क्षेत्र धार्मिक पर्यटनका लागि बलियो सम्भावना बोकेको क्षेत्र भएको छ ।

पछिल्लो समयमा गमगढी देखी गाँढीमा चार घण्टा, मुगु र हुम्लाको दोमुख देखी पैदल १ घण्टामा भिईगाँउ सम्म सडक र पैदल बाटो जोडीएको सोरु गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष सिंह बहादुर धामी बताउँछन् ।

वडा सरकारको प्रमुखको हैसियतले यस क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा जोड्न र राष्ट्रिय स्तरमा यसको प्रचार–प्रसार गर्न आफू पूर्ण रूपमा लागिपरेको वडा अध्यक्ष धामीले जानकारी दिए ।

भिई गाँउमा रहेका दर्जनै धार्मिक पर्यटकीय क्षेत्रलाई प्रचार प्रचार गर्ने हो भर्ने भिई गाँउमा उत्पादन हुर्ने रैथानीय कागुर्ने,चिनो,सिमी ,कोदो,मास लगाएतका अन्न बालीहरुको राम्रो विक्री हुनुका साथै पर्यटकहरुको आमगनले यहाँका नागरिकहरुको आर्थिक, पूर्वाधार क्षेत्रमा विकास हुने देखिन्छ । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>