चितवन विशेष
दुर्घटनामा ज्यान गुमाएका कराते खेलाडी सुजनको सम्झनामा चौबिसकोठीमा दीप प्रज्वलन

भरतपुर, असार १०-
सडक दुर्घटनामा ज्यान गुमाएका कराते खेलाडी सुजन मगरको सम्झनामा दीप प्रज्वलन गरिएको छ । नेपाल सितोरियो कराते संघ चितवनले मंगलबार साँझ भरतपुरको चौबिसकोठीमा दीप प्रज्वलन गरेको हो ।
मंगलबार साँझ चौबिसकोठी भएको दीप प्रज्वलनमा बागमती प्रदेश खेलकुद परिषद सदस्य कृष्णबहादुर नेपाल (सुजन), सितोरियो कराते संघ बागमती अध्यक्ष गगन लामा, सितोरियो कराते चितवन अध्यक्ष चित्र बहादुर रानामगरलगायत कराते संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा अफिसियलहरु सहभागी थिए । कार्यक्रममा सहभागीहरुले दीप प्रज्वलनसँगै श्रद्दाञ्जली अर्पण गरेका थिए । सुजनको निधनले कराते खेलमा ठूलो क्षति पुगेको उनीहरुको भनाइ थियो ।
२३ वर्षीय सुजनको शनिबार राति भरतपुर महानगरपालिका–१० चौविसकोठीमा स्कुटर दुर्घटनामा मृत्यु भएको थियो । मगरको करातेका राष्ट्रिय खेलाडीसँगै प्रशिक्षक समेत थिए । उनले भरतपुर डोजो, डन एकेडेमी तथा कलश मन्टेश्वरीमा कराते प्रशिक्षकको रुपमा प्रशिक्षण गराउँदै आएका थिए ।


























