चितवन विशेष

एभरेष्ट टक शो” को दोस्रो शृङ्खला भोलि प्रसारण हुँदै

Banner

चितवन, असार ५-

एभरेष्ट प्रिस्कुल, भरतपुर–१२, थानीचोक, चितवनद्वारा निर्माण गरिएको लोकप्रिय कार्यक्रम “द एभरेष्ट टक शो” को दोस्रो शृङ्खला भोलि असार ६ गते शनिबार प्रसारण हुने भएको छ।

कार्यक्रमको भिडियो ब्रोडकास्टिङ पार्टनर नारायणी अनलाइन, अडियो ब्रोडकास्टिङ पार्टनर कालिका एफएम ९५.२ मेगाहर्ज तथा प्रिन्ट मिडिया पार्टनर चितवन पोस्ट दैनिक रहेका छन्। एभरेष्ट प्रिस्कुलका लागि यो कार्यक्रम फोटो फ्याक्ट्रीद्वारा निर्माण गरिएको हो।

शिक्षा, बाल्यकाल, विद्यालय जीवन, सामाजिक योगदान तथा प्रेरणादायी अनुभवहरूलाई केन्द्रमा राखेर तयार गरिएको यस टक शोमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूसँग संवाद प्रस्तुत गरिँदै आएको छ। पहिलो सिजनमा शिक्षक, व्यवसायी, बैंकर, पत्रकार, चिकित्सक, समाजसेवी तथा राजनीतिज्ञलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ।

भोलि प्रसारण हुन लागेको दोस्रो शृङ्खलामा श्री हिमालय आधारभूत विद्यालय भरतपुर-११, जागृतिचोककी शिक्षिका तथा सह–प्राध्यापक श्रीमती सीता ढकाल अधिकारी अतिथिका रूपमा सहभागी हुनुहुनेछ। कार्यक्रममा उहाँले आफ्नो जीवन यात्रा, शिक्षण पेशामा प्रवेशदेखि हालसम्मका अनुभव, चुनौती, संघर्ष तथा उपलब्धिहरूका बारेमा खुलेर चर्चा गर्नुभएको छ।

विशेषगरी शिक्षा क्षेत्रमा बिताएका ३७ वर्षको लामो यात्राका अनुभवहरू, विद्यार्थीहरूसँगको सम्बन्ध, समयसँगै शिक्षण पद्धतिमा आएको परिवर्तन तथा समाज निर्माणमा शिक्षकको भूमिकाबारे उहाँका विचारहरू यस एपिसोडको मुख्य आकर्षण रहनेछन्। शिक्षण पेशामा समर्पित व्यक्तित्वका रूपमा उहाँले भोगेका विविध अनुभवहरू दर्शक तथा श्रोताका लागि प्रेरणादायी बन्ने विश्वास गरिएको छ।

कार्यक्रम सञ्चालन वरिष्ठ सञ्चारकर्मी तथा रेडियो होस्ट महिमा पण्डित भट्टराई ले गर्नुभएको छ। कार्यक्रमका निर्देशक तथा एभरेष्ट प्रिस्कुलका सञ्चालक गणेश राना का अनुसार “द एभरेष्ट टक शो” शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्वहरूको ज्ञान, अनुभव र प्रेरणादायी कथालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको हो। उहाँले यस्ता संवादमार्फत समाजमा सकारात्मक सोच र प्रेरणाको प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो।

“द एभरेष्ट टक शो” प्रत्येक शनिबार साँझ ७ः०० बजे नारायणी अनलाइनमार्फत अडियो–भिडियो स्वरूपमा प्रसारण हुनेछ भने सोही दिन राति ९ः०० बजे कालिका एफएम ९५.२ मेगाहर्जबाट अडियो स्वरूपमा सुन्न सकिनेछ।

शिक्षा, प्रेरणा र अनुभवलाई केन्द्रमा राखेर तयार गरिएको यस कार्यक्रमले समाजमा सकारात्मक तथा सिर्जनात्मक शैक्षिक संवाद विस्तार गर्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>