देश/प्रदेश

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

Banner

काठमाडौं,असार ५-

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ई–राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सकिने सेवा सुरु गरेको छ।

विभागले बिहीबार एक सूचना जारी गर्दै नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले विभागको सिटिजन पोर्टलमार्फत परीक्षणका रूपमा उक्त सेवा सञ्चालनमा ल्याइएको जनाएको छ।

विभागका अनुसार मिति २०८३ असार ४ गतेदेखि सिटिजन पोर्टलमार्फत फोटो, अनलाइन भेरिफाइ गर्न मिल्ने क्यूआर कोड तथा पासवर्ड सुरक्षित ‘प्रोभिजनल नेसनल आइडेन्टिटी कार्ड’ डाउनलोड गर्न सकिने व्यवस्था गरिएको हो।

राष्ट्रिय परिचय नम्बर प्राप्त गरिसकेका नेपाली नागरिकहरूले आफ्नो नाम (नेपाली वा अंग्रेजी), जन्ममिति तथा नागरिकता जारी भएको मिति प्रविष्ट गरी ई–राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्नेछन्।

विभागले डाउनलोड गरिएको ई–राष्ट्रिय परिचयपत्र सुरक्षित रूपमा राख्न नागरिकलाई आग्रह गरेको छ। साथै, सार्वजनिक निकाय तथा सेवा प्रदायक संस्थाहरूलाई ई–राष्ट्रिय परिचयपत्रमा रहेको क्यूआर कोड स्क्यान गरी देखिने विवरण र नागरिकले प्रस्तुत गर्ने विवरण रुजु गरेर सेवा प्रवाह गर्न अनुरोध गरिएको छ।

यसअघि विभागको सिटिजन पोर्टलबाट प्रिन्ट गरिएको राष्ट्रिय परिचय नम्बरको निस्साका आधारमा सेवा प्रवाह हुँदै आएको थियो।

विभागले यस सम्बन्धी प्रयोगकर्ता निर्देशिका (यूजर मैनुअल) सिटिजन पोर्टल तथा विभागको वेबसाइटबाट डाउनलोड गर्न सकिने जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>