देश/प्रदेश
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

रसुवा, असार ३-
मरणसंस्कार, पितृ श्राद्ध, धर्मसंकृति र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलका रुपमा परिचित बेत्रावतीस्थित पवित्र उत्तरगया धामलाई फोहरमुक्त बनाइएको छ ।
उत्तरगया धाम सरसफाइ समिति, रसुवा वन डिभिजन कार्यालय र स्थानीय वन उपभोक्ता महासङ्घको संयुक्त पहलमा नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगया धाममा सरसफाइ अभियान सम्पन्न भएको हो ।
वातावरणको स्वच्छता कायम गरी धार्मिक एवं पर्यटन क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले भएको सो अभियानमा व्यापक जनसहभागिता रहेको वरिष्ठ समाजसेवी चन्द्रशेखर लम्सालले बताउनुभयो ।
स्थानीय पुरोहित वसन्तकुमार लामिछानेका अनुसार रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित त्रिशूली नदी र फलाखु खोलाको सङ्गमस्थलमा रहेको उत्तरगया धाममा गरिएको वृहत सरसफाइ अभियानबाट पाँच टनभन्दा बढी फोहर सङ्कलन गरिएको छ ।
डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङले प्लास्टिकका बोतल, कपडाका टुक्रा तथा अन्य विविध प्रकारका फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको उल्लेख गर्दै धार्मिक तथा सांस्कृति हिसाबले महत्व बोकेको पवित्र धामलाई सफा, स्वच्छ र वातावरणमैत्री बनाउने दायित्व हामी सबैको हो भन्नुभयो ।
जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेका अनुसार पछिल्ला दिनमा सडक सञ्जालको सहज पहुँचका कारण प्रमुख पर्वबाहेक अन्य दिनमा पनि भक्तजन तथा पर्यटकको आगमन बढ्दै गएको छ ।
यसैगरी, स्थानीय समाजसेवी बलराम श्रेष्ठले फोहरको वर्गीकरण गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै यस पुण्यभुमीमा जथाभावी फोहोर गर्नेलाई दण्डित गर्नुपर्ने सुझाव दिनुभयो ।
उत्तरगया गाउँपालिकाले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पवित्र धाम क्षेत्रलाई व्यवस्थित, सुरक्षित र सफासुग्घर तुल्याउन बागमती प्रदेश सरकारको सहयोगमा त्रिशूली नदी र फलाखु खोलाको सङ्गम क्षेत्रमा तारजाली प्रयोग गरी तटबन्ध निर्माण गरेको स्पष्ट गरेको छ ।
देवभूमिका रुपमा परिचित उत्तरगया धाममा अन्तिम संस्कार, स्नान, तर्पण, श्राद्ध तथा पिण्डदान गरेमा विशेष पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ । रासस
























