कृषि
बाजुरामा दाँते ओखर खेती

बाजुरा,असार ३-
बाजुरामा पछिल्लो समय दाँते ओखर खेती राम्रो हुँदै गएको छ । जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न ठाउँमा लगाइएको दाँते ओखरका बिरुवा राम्रोसँग हुर्कनुका साथै फल्न समेत थालेका छन् ।
व्यक्तिगत फर्म र विभिन्न समूहले लगाएका दाँते ओखरका बिरुवा पछिल्लो समय राम्रोसँग हुर्किन र फल्न थालेका हुन्।कतिपय स्थानमा परीक्षणको लागी वृक्षारोपण गरिएका बिरुवा समेत राम्रो हुन थालेका छन् ।
दाँते ओखर खेतीबाट जीविकोपार्जनमा सहज हुने सम्भावना देखिएपछि यहाँका अधिकांश किसानहरू यस खेतीतर्फ आकर्षित बन्दै गएका हुन् । बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढी नन्दा, बडी मालिका, गौमुल लगायतका स्थानीय तहमा पछिल्लो समय दाँते ओखर खेती राम्रो हुँदै गएको छ ।
एक लामो आयु हुने ठुलो रुखको रूपमा ओखरलाई लगिन्छ।जसको आयु करिब २०० वर्षसम्म हुने गर्छ । एक परिपक्व ओखरको रुखले वार्षिक १०० देखि २०० किलोग्रामसम्म फल दिन सक्ने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
नेपालमा समुद्री सतहबाट ९०० देखि ३५०० मिटरसम्म ओखर खेती गर्न सकिने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहानीले बताए।उनका अनुसार,हरेक बिरुवा ७–७ मिटरको दूरीमा रोप्न उपयुक्त मानिन्छ । भने प्रति रोपनी १० देखि १५ बिरुवा लगाउन सकिने जानकारी दिए ।
ओखरले ५–६ वर्षपछि उत्पादन दिन सुरु गर्ने गरेको छ । ओखर दीर्घकालीन आम्दानी दिने भएकाले किसानहरूको आकर्षण बढ्दै गएको पाइन्छ । बाजुरा जिल्लाका विभिन्न ठाउँमा अहिले व्यवसायकै रूपमा ओखर खेती गर्ने गरिएको छ ।
























