देश/प्रदेश

‘मालिका रेन्बो ट्राउट फार्म’मा चहल पहल

Banner

म्याग्दी, असार १ –

वैदेशिक रोजगारबाट फर्किएका युवाले यहाँ सञ्चालन गरेको ट्राउट माछा फार्म मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

म्याग्दीको ‘मालिका रेन्बो ट्राउट फार्म’मा रु ५० लाख लगानी गरी घरवास (होमस्टे) सञ्चालन भएपछि माछाका परिकार खान आउने आन्तरिक पर्यटकको स्थानीय क्षेत्रमा चहल पहल बढेको हो ।

मालिका गाउँपालिका–३ का पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोक्काले स्थानीय टिमुरे खोलाको किनारमा सामूहिक रु ५० लाख लगानी गरी माछा फार्म र होमस्टे सञ्चालन गरेका छन् ।

उहाँहरुले छोटो समयमा माछा बिक्री र होमस्टै सञ्चालनबाट वार्षिक रु २६ लाख आम्दानी गर्न सफल भएका छन् । टिमुरेको यो ट्राउट फार्म यहाँ सञ्चालनमा आएपछि गाउँमा पाइने स्थानीय तरकारी गाउँबाटै बिक्री हुन थालेको छ ।

पाँच वर्ष कतारमा काम गरेर कोरोना महामारीका कारण रोजगारी गुमेपछि थन्मथलो फर्किएका पूर्णबहादुरलाई फार्म सञ्चालन गर्न विदेशमा रहेका यामेन्द्र रोक्का र तेजेन्द्र बुढाले साथ दिएका थिए ।

विदेशको अनुभव र आम्दानीलाई गाउँमै लगानी गर्ने सोच अन्ततः सफल भएको छ । तीनभाइले विसं २०७९ कात्तिकमा फार्म दर्ता गरी ट्राउट माछापालन सुरु गर्नुभएको थियो ।

सुरुमा रु १२ लाख लगानीमा छ वटा पोखरी (रेसवे) निर्माण गरेर माछापालन सुरु गरिएको थियो । व्यवसाय विस्तारसँगै हाल पोखरीको सङ्ख्या २० पुगेको छ ।

फार्मका सञ्चालक रोक्काका अनुसार गण्डकी रेन्बो ट्राउटबाट ल्याइएको १० हजार अण्डाबाट ह्याचरिङ गरी माछापालको उत्पादन सुरु गरिएको थियो ।

अहिले फार्ममै भुरा उत्पादन हुने व्यवस्था मिलाइएको छ । सोह्र हजारभन्दा बढी माछा हुर्किरहेका छन् । “विदेशमा पसिना बगाउँदा पनि सन्तोषजनक बचत गर्न कठिन थियो । पछिल्लो एक वर्षयता दुई हजार किलोग्राम माछा रु २६ लाखमा बिक्री भयो”, पूर्णले भन्नुभयो, “यस वर्ष पोखरीको सङ्ख्या थपिएकाले माछा उत्पादन र बिक्री बढ्ने अपेक्षा गरेको छु ।

दरबाङ बजार, सदरमुकाम बेनी तथा छिमेकी जिल्ला बागलुङसम्म प्रतिकिलो रु एक हजार तीन सयका दरले माछा बिक्री हुने गरेको छ । माछापालनसँगै उनीहरूले टिमुरेमा आफ्नै रेष्टुराँ र घरबास पनि सञ्चालन गरेका छन् ।

पोखरीमा उत्पादन भएको ताजा ट्राउट माछा रेष्टुराँमार्फत ग्राहकसम्म पु¥याउने व्यवस्था मिलाइएको छ । कृषि पर्यटनको अवधारणाअनुसार छ जना क्षमताको घरवास र रेष्टुराँ सञ्चालन गरिएको छ ।

रुम, दुरलेक, ढुङ्गाखानी, डाँडागाउँ, सोलेडाँडा घुम्न र माछा फार्म अवलोकनमा आउने पर्यटकलाई लक्षित गरेर घरबास सञ्चालन भएको हो । बेनीबाट घुम्न गएका सुदीप खत्रीले फार्ममा पालिएका माछा अवलोकनका साथै स्वाद पनि लिन पाउँदा रमाइलो महसुस भएको प्रतिक्रिया दिनुभयो ।

“नेपालमै व्यवसाय गरेर राम्रो आम्दानी गर्न सकिने रहेछ”, पूर्णले भन्नुभयो, “माछापालनबाट आत्मसन्तुष्टि पनि मिलेको छ र परिवारसँगै बसेर काम गर्न पाइएको छ ।” परिवारका दुई जना सँगै आवश्यकताअनुसार अन्य व्यक्तिहरुलाई पनि रोजगारी मिलेको छ ।

उक्त फार्मलाई मिर्मी र रसुवामा रहेको मत्स्य अनुसन्धान केन्द्र, मालिका गाउँपालिका र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले सहयोग गरेका छन् । मत्स्य अनुसन्धान केन्द्रले प्राविधिक ज्ञान, सीप र तालिमका साथै प्रविधिमा सहयोग गरेका छन् ।

मालिका गाउँकार्यपालिकाका प्रवक्ता अनुप गौचनले चालु आर्थिक वर्षमा माछाको भुरा उत्पादन गर्ने नर्सरी बनाउन पालिकाले रु पाँच लाख सहयोग गरेको बताउनुभयो ।

वर्षायाममा बाढी र भेलका कारण धमीलो पानी आउँदा माछाका भुरा जोगाउन कठिन हुने चुनौती छ । दानाको मूल्यवृद्धि, उत्पादन लागत र प्राकृतिक जोखिमका बाबजुत बजारको माग निरन्तर बढिरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>