देश/प्रदेश

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

Banner

ललितपुर,जेठ ३१

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन तथा ‘संस्कृति र पर्यटन’ विषयक वृहत् गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम शनिबार ललितपुरको पुलचोकस्थित ताम्राकार समाज भवनमा सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो सत्रमा ‘संस्कृति र पर्यटन’ विषयक वृहत् गोष्ठी तथा अन्तरक्रिया आयोजना गरिएको थियो । फोनिज उपत्यका समन्वय प्रदेश समितिका अध्यक्ष प्रशान्त मालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महर्जनले नेपालको बहुभाषिक, बहु सांस्कृतिक तथा बहु जातीय पहिचानलाई पर्यटनसँग जोडेर आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिए । उनले आदिवासी जनजातिका मौलिक संस्कृति, परम्परा, भाषा, कला र जीवनशैलीलाई पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्न आवश्यक रहेको बताए ।

गोष्ठीमा सहभागी वक्ताहरूले सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि राज्य, स्थानीय तह र सरोकारवाला निकायबिच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा आदिवासी जनजाति समुदायका प्रतिनिधि, पत्रकार, संस्कृति तथा पर्यटन क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको दोस्रो सत्रअन्तर्गत सम्पन्न प्रथम अधिवेशनले प्रशान्त मालीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

फोनिजका संघीय महासचिव समीर बलामीको प्रमुख आतिथ्य तामा सम्पन्न अधिवेशनमा आदिवासी जनजाति समुदायका भाषा, कला, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिकाबारे छलफल गरिएको थियो ।

महासचिव बलामीले पत्रकारितामार्फत आदिवासी जनजाति समुदायका मुद्दा, अधिकार र सरोकारलाई प्रभावकारी रूपमा उठाउनुपर्ने आवश्यकता औँल्याउँदै संगठनलाई अझ सक्रिय र सशक्त बनाउन आग्रह गरे ।

अधिवेशनबाट उपाध्यक्षमा राजु राजदेव बज्राचार्य, महिला उपाध्यक्षमा रमिता छुजु, महासचिवमा प्रवीण किराँती, सचिवमा राजेश बज्राचार्य, महिला सचिवमा सरिना बज्राचार्य तथा कोषाध्यक्षमा चाँदनी मोक्तान चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा विकास माली, सपना थामी, हर्कबहादुर श्रेष्ठ, दिलीप शाही, ईश्वर महर्जन, नरेश महर्जन, बी।के। जल्मी, तुलसी प्रजापति, भूपेन्द्र शाक्य, सुबिन शाक्य, बसु शाही र नन्दराम महर्जन चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>