देश/प्रदेश

हिमपातले लिमीमा आन्तरिक नाकाबन्दी, न्यालुलेकको हिउँ पन्छाउन थालियो

०
Banner

हेमन्त केसी, 

सुर्खेत ,कात्तिक २३ –

हिमपातका कारण सडक सम्पर्क विच्छेद भएर आन्तरिक नाकाबन्दीको अवस्था सिर्जना भएको हुम्लाको नाम्खा गाउँपालिका–५ र ६ (लिमी) मा सडक खुलाउन न्यालुलेकको हिउँ पन्छाउन थालिएको छ ।

गत असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछि भएको हिमपातका कारण लिमी–लाप्चा सडकखण्डअन्तर्गत करिब पाँच हजार दुई सय मिटर उचाइमा रहेको न्यालुलेक हिउँले ढाकिएको छ । सडक अवरुद्ध भएपछि लिमीका बासिन्दालाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको छ ।

नाम्खा गाउँपालिका र पूर्वाधार विकास कार्यालय सिमकोटको संयुक्त आयोजनामा मंसिर १९ गतेदेखि हिउँ पन्छाउने काम सुरु गरिएको हो। सडक खुलाएर लिमीवासीको आवतजावत सहज बनाउनुका साथै अत्यावश्यक सामग्री ढुवानीको व्यवस्था मिलाउने उद्देश्यले हिउँ हटाउन थालिएको गाउँपालिकाले जनाएको छ।

हिउँ पन्छाउने कामको अवस्था र प्रगति बुझ्न नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा तथा पूर्वाधार विकास कार्यालयका कर्मचारी न्यालुलेक पुगेका थिए। उनीहरूले अत्यन्तै कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच भइरहेको कामको स्थलगत निरीक्षण गरेका छन् ।

खाद्यान्न ढुवानीमा सकस

हिमपातका कारण न्यालुलेकमा सडक अवरुद्ध भएपछि नाम्खा–५ र ६ का बासिन्दा बाह्य क्षेत्रसँगको सडक सम्पर्कबाट विच्छेद भएका छन्। उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ जम्दा स्थानीयलाई खाद्यान्न, दैनिक उपभोग्य वस्तु तथा अन्य आवश्यक सामग्री ल्याउन कठिन भएको छ ।

लिमीवासीको दैनिक जनजीवन सहज बनाउन सडक खुलाउनु अनिवार्य भएको गाउँपालिका अध्यक्ष लामाले बताए। उनका अनुसार सडक सञ्चालनमा आएपछि स्थानीयको आवतजावतसँगै खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री ढुवानीमा सहजता हुनेछ ।

समुद्री सतहबाट करिब पाँच हजार दुई सय मिटर उचाइमा रहेको न्यालुलेकमा हिउँ पन्छाउनु चुनौतीपूर्ण छ । प्रतिकूल मौसम र कठिन भूगोलका बाबजुद गाउँपालिका र पूर्वाधार विकास कार्यालयको समन्वयमा काम अघि बढाइएको अध्यक्ष लामाले बताए ।

हिमपातका कारण वर्षेनि लिमी क्षेत्रको सडक सम्पर्क प्रभावित हुँदै आएको छ। सडक अवरुद्ध हुँदा स्थानीयले भोग्नुपर्ने खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव र आवतजावतको समस्यालाई मध्यनजर गर्दै हिउँ पन्छाउने काम थालिएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>