देश/प्रदेश
आदिवासी अधिकार संरक्षणमा युवाको भूमिका महत्वपूर्ण : धनकुमारी मगर

काठमाडौं, जेठ ३० –
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) की महासचिब धनकुमारी मगरले आदिवासी समुदायको पहिचान, भाषा, संस्कृति तथा प्राकृतिक स्रोत–साधनसँग सम्बन्धित अधिकारको संरक्षण र प्रवद्र्धनमा थप ध्यान दिनुपर्ने बताएकी छन् ।
संयुक्त राष्ट्र संघ विश्व आदिवासी युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले आदिवासी समुदाय विविध भाषा, संस्कृति, परम्परा र जीवनशैलीले समृद्ध रहेको उल्लेख गरिन् ।
नेपाल मात्र नभई विश्वभर आदिवासी समुदायको पहिचानलाई उजागर गर्दै आपसी सम्बन्ध सुदृढ बनाउन विश्व आदिवासी युवा सम्मेलनले महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ थियो ।
उनले भनिन्, ‘हाम्रो पृथक पहिचान, विविध भाषा, संस्कृतिले भरिपूर्ण छ आदिवासी समुदाय । नेपालमा मात्रै होइन विश्वमा पनि आदिवासीहरुको पहिचानलाई जुन देखाउने जोड्ने काम गर्दै आइरहेका छ आदिवासी युवा सम्मेलनले यो अति नै राम्रो काम हो । भाषा, संस्कृति, परम्परा, जीवनशैली संरक्षण र प्रवद्र्धन गर्दै आइरहेको अवस्थामा आदिवासीहरुको भूमी, क्षेत्र, प्राकृतिक स्रोत साधनसँग जोडिएको अधिकारलाई अझै जोड्न आवश्यक छ । यसमा आदिवासी युवाहरुको महत्वपूर्ण भूमिका पनि रहन्छ ।’
उनले भाषा, संस्कृति, परम्परा र जीवनशैलीको संरक्षण तथा प्रवद्र्धनका प्रयासहरू जारी रहे पनि आदिवासी समुदायको भूमि, क्षेत्र र प्राकृतिक स्रोत–साधनसँग जोडिएका अधिकारलाई अझ प्रभावकारी रूपमा स्थापित गर्न आवश्यक रहेको बताइन् । यस कार्यमा आदिवासी युवाहरूको महत्वपूर्ण भूमिका रहने उनको धारणा थियो ।
कार्यक्रममा बोल्दै मगरले वर्तमान विश्व परिवर्तनको चरणमा सांस्कृतिक पहिचानको संरक्षणसँगै विज्ञान–प्रविधिको विकास, जलवायु परिवर्तन, आर्थिक चुनौती तथा सामाजिक रूपान्तरणका विषयहरूले मानव जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘आजको विश्व परिर्वतनको चरणमा पनि आफ्नो संस्कृति पहिचानलाई जोडेर सँगसँगै विज्ञान प्रविधि, जलवायु परिवर्तनसँगको आर्थिक चुनौती तथा सामाजिक रुपान्तरणका विषयले मानव जीवनलाई प्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा युवाहरु भविष्यको नेतृत्वकर्ता मात्र होइन वर्तमान परिवर्तनका संवाहक पनि हुन् ।’
उनले युवाहरूलाई भविष्यका नेतृत्वकर्ता मात्र नभई वर्तमान परिवर्तनका प्रमुख संवाहकका रूपमा चित्रण गर्दै आदिवासी समुदायको अधिकार, पहिचान र विकासका मुद्दामा सक्रिय सहभागिता आवश्यक रहेको बताइन् । न्यूज बैंक























