चितवन विशेष
नारायणी अनलाइनबाट ‘द एभरेष्ट टक शो’ प्रसारण हुँदै

भरतपुर, जेठ २९-
चितवनको भरतपुर–१२, थानीचोकमा रहेको एभरेष्ट प्रिस्कुलद्वारा निर्माण गरिएको बहुप्रतिक्षित कार्यक्रम ‘द एभरेष्ट टक शो’ को पहिलो सिजन भोलि जेठ ३० गते शनिबारदेखि औपचारिक रूपमा प्रसारणमा आउने भएको छ । पहिलो सिजनमा कुल १५ एपिसोड समावेश गरिएका छन् ।
कार्यक्रमको भिडियो ब्रोडकास्टिङ पार्टनर नारायणी अनलाइन, अडियो ब्रोडकास्टिङ पार्टनर कालिका एफएम ९५.२ मेगाहर्ज तथा प्रिन्ट मिडिया पार्टनर चितवन पोस्ट दैनिक रहेका छन् । एभरेष्ट प्रिस्कुलका लागि यो कार्यक्रम फोटो फ्याक्ट्रीद्वारा निर्माण गरिएको हो । विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूसँग शिक्षा, बाल्यकाल, विद्यालय जीवन, सामाजिक योगदान तथा समसामयिक विषयमा केन्द्रित रहेर तयार गरिएको यस टक शोको पहिलो सिजनमा शिक्षक, व्यवसायी, बैंकर, पत्रकार, चिकित्सक, समाजसेवी तथा राजनीतिज्ञलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ ।
शनिबारदेखि प्रसारण हुन लागेको पहिलो शृङ्खलामा नारायणी नमूना माध्यमिक विद्यालयका भूतपूर्व शिक्षक टेकबहादुर थापा अतिथिका रूपमा सहभागी हुनुहुनेछ । उक्त एपिसोडमा उहाँसँगको संवादमा शिक्षण अनुभव, विद्यालय जीवन, समाजमा शिक्षकको भूमिका तथा शिक्षासम्बन्धी विविध विषयहरू समेटिएका छन् । कार्यक्रम सञ्चालन वरिष्ठ सञ्चारकर्मी तथा रेडियो होस्ट महिमा पण्डित भट्टराईले गर्नुहुनेछ ।
कार्यक्रमका निर्देशक तथा एभरेष्ट प्रिस्कुलका सञ्चालक गणेश रानाले लामो समयदेखि शिक्षा क्षेत्रमा आफू समर्पित रहँदै आएको उल्लेख गर्नुभयो । उहाँका अनुसार विगत १६ वर्षभन्दा बढी समयदेखि मन्टेश्वरी प्रिस्कुल सञ्चालन गर्दै आएको अनुभवले यस क्षेत्रमा अझै निरन्तर योगदान दिन प्रेरणा मिलेको छ । उहाँले आफू जस्तै वा आफूभन्दा पनि लामो समय शिक्षण क्षेत्रमा समर्पित व्यक्तित्वहरूको अनुभव, संघर्ष र सफलताको कथा साझा गर्ने एक साझा थलोको रूपमा ‘द एभरेष्ट टक शो’ स्थापित हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभयो ।
“समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले आफ्ना अनुभव र विचार प्रस्तुत गर्ने धेरै माध्यमहरू छन्, तर शिक्षकहरूको योगदान, संघर्ष र अनुभवलाई उजागर गर्ने विशिष्ट माध्यमको अभाव थियो । यही आवश्यकतालाई मध्यनजर गर्दै यो कार्यक्रम सुरु गरिएको हो,” निर्देशक रानाले भन्नुभयो । ‘द एभरेष्ट टक शो’ प्रत्येक शनिबार साँझ ७ः०० बजे नारायणी अनलाइन मार्फत श्रव्यदृश्य स्वरूपमा प्रसारण हुनेछ भने सोही दिन राति ९ः०० बजे कालिका एफएम ९५.२ मेगाहर्जबाट श्रव्य स्वरूपमा प्रसारण हुनेछ ।
शिक्षा, प्रेरणा र अनुभवलाई केन्द्रमा राखेर तयार गरिएको यस कार्यक्रमले समाजमा सकारात्मक शैक्षिक संवाद विस्तार गर्ने अपेक्षा गरिएको छ ।























