चितवन विशेष
समुदायको उत्थानशीलतालाई व्यवस्थापित गर्न सामुदायिक वन व्यवस्थान परियोजना सञ्चालन

चितवन जेठ २७-
नेपालका हिन्दुकुश अर्थात हिमालय क्षेत्रमा जलवायु उत्थानशील उपायका रुपमा सामुदायिक वन व्यवस्थापन परियोजना सञ्चालन गरिएको छ । वन विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय बल्खु, र नेपाल विश्वविद्यालय अनुदान आयोगको सहकार्यात्मक अनुसन्धान तथा नवप्रवर्तन अनुदानको आर्थिक सहयोगमा परियोजना सञ्चालन गरिएको हो ।
यस कार्यक्रमबाट वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगका लागि विकसित भएका अनेक अवधारणामध्ये, नेपालमा विकसित भएको समुदायद्वारा व्यवस्थित वन आज विश्वसामु एक उदाहरणीय अभ्यासका रूपमा उभिने अपेक्षा परियोजनाले गरेको छ । परियोजना अन्तर्गत करिब २३ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहहरू हाल यस अभियानमा सहभागी रहेको बताइएको छ ।
समय परिवर्तनसँगै वन व्यवस्थापनको स्वरूप पनि परिवर्तन हुँदै आएको छ । एक समय केवल संरक्षणमा केन्द्रित यो प्रणाली, आज सामाजिक र आर्थिक आवश्यकतासँग गाँसिँदै, आय–आर्जन र समृद्धिको बाटोतर्फ उन्मुख भएको देखिएको छ ।
























