चितवन विशेष
बागमती प्रदेश र चितवन उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका समस्या र सम्भावनाबारे छलफल

चितवन, जेठ २६ –
चितवन उद्योग वाणिज्य संघले निजी क्षेत्रका समस्या, वर्तमान बजेटका प्रभाव तथा उद्योग वाणिज्य संघहरूको क्षमता अभिवृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका प्रतिनिधको उपस्थितीमा आफ्नो सभाहलमा सोमबार वर्तमान अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले संघको परिचय, चितवनको आर्थिक तथा सामाजिक अवस्था र संघले अघि सारेका आगामी रणनीतिबारे जानकारी गराएका थिए। उनले संघीय राजधानी रहेको बागमती प्रदेशका सम्भावनाहरू अझै पर्याप्त रूपमा उजागर हुन नसकेको उल्लेख गर्दै निजी क्षेत्रका आवाज सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउन महासंघलाई आग्रह गरे।
चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सुमनकुमार श्रेष्ठले बागमती प्रदेश महासंघ निजी क्षेत्रको छाता संगठन भएकाले उद्यमी–व्यवसायीका आवाज सम्बन्धित निकायसम्म पुर्याउने पुलको भूमिका निर्वाह गर्नुपर्ने बताए। त्यसका लागि महासंघको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठले वर्तमान कार्यसमितिले निजी क्षेत्रका समस्यालाई नजिकबाट अध्ययन गरिरहेको बताउँदै प्रदेशभरिका उद्योग वाणिज्य संघका माग र समस्यालाई एकीकृत गर्दै नेतृत्व प्रदान गर्ने बताए। उनले प्रदेशका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई एकताबद्ध बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाए।
सोही अवसरमा अध्यक्ष श्रेष्ठले चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीलाई महासंघ बागमती प्रदेशको नवनिर्वाचित कार्यसमितिमा आमन्त्रित सदस्यका रूपमा मनोनयन गरिएको घोषणा गरेका थिए।
अन्तरक्रिया कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जिल्ला तथा नगर उद्योग वाणिज्य संघका सचिवालयमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि, सचिवालय व्यवस्थापन तथा संघहरूको आम्दानीका स्रोत पहिचान गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सबै उद्योग वाणिज्य संघहरू समान उद्देश्यका साथ स्थापित भएकाले उद्यमी–व्यवसायीको आवाज बुलन्द बनाउन महासंघ सफल हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष कृष्णकुमार गुप्ता, कोषाध्यक्ष रुद्रबहादुर खत्रीलगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरू, साथै चितवन उद्योग वाणिज्य संघका पदाधिकारी र कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो।
यसैबिच चितवन उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठको नेतृत्वमा आएको अध्ययन तथा अवलोकन भ्रमण टोलीलाई स्वागत गरिएको थियो।
संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत गणेश सुवेदीले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले गरेका थिए।
























