चितवन विशेष
अक्सफोर्ड कलेजको बसको ठक्करबाट साइकलयात्रीको मृत्युपछि घटनास्थल तनावग्रस्त

चितवन, जेठ २१-
चितवनको भरतपुर महानगरपालिका–१६ विजयनगर चोकमा अक्सफोर्ड कलेजको बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएपछि घटनास्थल तनावग्रस्त बनेको छ। चालकले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएको आरोप लगाउँदै स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्।
भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य गोपाल दराईका अनुसार दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा तोडफोड समेत गरेका छन्। स्थानीयको विरोधका कारण सो क्षेत्र तनावग्रस्त बनेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज अपराह्न भएको दुर्घटनामा साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो। मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। चालकले मादक पदार्थ सेवन गरेको विषयमा परीक्षण तथा अनुसन्धानपछि मात्रै यथार्थ खुल्ने प्रहरीको भनाइ छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।























