चितवन विशेष

चितवनमा विश्व साइकल दिवसमा बृहत् साइकल र्‍याली

Banner

चितवन, जेठ २०-

चितवनमा विश्व साइकल दिवसको अवसरमा बुधबार (आज) बृहत् साइकल र्‍यालीको आयोजना गरिएको छ । भरतपुर–७ स्थित अङ्कुरम् एकेडेमीको आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा आयोजित र्‍यालीमा चितवन र नवलपुरका करिब एक सय जनाको सहभागिता रहेको थियो । आयोजकका अनुसार साइकल संस्कृतिको प्रवर्द्धन, स्वस्थ जीवनशैलीको विकास तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो।

‘वातावरण, स्वास्थ्य र पर्यापर्यटनका लागि साइकल’ भन्ने नारासहित आयोजित र्‍याली अङ्कुरम् एकेडेमीबाट सुरु भई वनदेवी मध्यवर्ती उपभोक्ता समितिको गेट, बीसहजारी ताल, बाटुली पोखरी र छितामाई हुँदै लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिटसम्म पुगेको थियो। सहभागीहरूले २५ किलोमिटर दूरी साइकलमार्फत पार गरेका थिए ।

र्‍यालीको उद्घाटन गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साइकल संस्कृतिको विकासले नागरिकको स्वास्थ्य सुधार गर्नुका साथै वातावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए। वर्षमा एक दिन मात्र साइकल चलाएर दिवस मनाउनुभन्दा यसलाई दैनिक जीवनशैलीको हिस्सा बनाउन आवश्यक रहेको उनको भनाइ थियो।
र्‍यालीको समापन कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष शिवजी गायकले जलवायु परिवर्तन र वातावरणीय प्रदूषण न्यूनीकरणका लागि साइकल अभियान प्रभावकारी माध्यम भएको बताए। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले विश्व अहिले जलवायु परिवर्तन, प्रदूषण र स्वास्थ्यसम्बन्धी चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै साइकल संस्कृतिले यी समस्याको समाधानमा सहयोग पुर्‍याउन सक्ने बताए।
अङ्कुरम् एकेडेमीका प्राचार्य सुमन पौडेलले विगत चार वर्षदेखि विश्व साइकल दिवसका अवसरमा र्‍याली आयोजना गर्दै आएको जानकारी दिँदै आगामी दिनमा यसलाई मासिक कार्यक्रमका रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताए। कार्यक्रममा चितवनतवन राइडर्स क्लबका अध्यक्ष पदमबहादुर बानियाँ, धर्मराज सापकोटा लगायतले बोलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>