चितवन विशेष

माडीमा भव्य रूपमा सम्पन्न ‘मौलिक सांस्कृतिक उत्सव २०८३’

Banner

माडी, जेठ १६-

चितवनको माडी उपत्यकामा विविध जातजाति, भाषा, भेषभूषा र मौलिक संस्कृतिको अनुपम संगम झल्काउने “माडी मौलिक सांस्कृतिक उत्सव २०८३” भव्य रूपमा सम्पन्न भएको छ। माडी प्रज्ञा प्रतिष्ठानको आयोजना तथा माडी नगरपालिकाको प्रवर्द्धनमा बसन्तपुर बजारस्थित खुला चौरमा आयोजित उत्सवमा हजारौँ नागरिकको उत्साहजनक सहभागिता रहेको थियो।

माडीको इतिहासमै महत्त्वपूर्ण सांस्कृतिक अभियानका रूपमा हेरिएको उक्त उत्सवले यहाँका मौलिक कला, संस्कृति, भाषा, भेषभूषा, परम्परा तथा सामाजिक सद्भावलाई एउटै मञ्चमा प्रस्तुत गर्दै माडीलाई सांस्कृतिक एकताको केन्द्रका रूपमा स्थापित गरेको आयोजकले जनाएको छ ।

उत्सवअघि बसन्तपुर बजार क्षेत्रमा विभिन्न जातजातिको मौलिक पहिचान झल्किने आकर्षक झाँकीसहित सांस्कृतिक र्‍याली निकालिएको थियो। परम्परागत बाजागाजा, जातीय पहिरन र मौलिक नृत्यसहितको र्‍यालीमा स्थानीय आमा समूह, युवा क्लब, संघसंस्था, शिक्षक, विद्यार्थी तथा नागरिक समाजको उल्लेख्य सहभागिता रहेको थियो। बजार परिक्रमा गर्दै र्‍याली खुला चौरमा पुगेपछि औपचारिक समारोह तथा सांस्कृतिक कार्यक्रम सुरु गरिएको थियो।

उत्सवको शुभारम्भ ब्राह्मण–क्षेत्री समुदायको स्वस्तिवाचन तथा भजन–कीर्तनबाट गरिएको थियो। त्यसपछि आदिवासी थारु समुदायका आठ थरी मौलिक सांस्कृतिक प्रस्तुतिसहित मगर, तामाङ, नेवार, दुरा, गुरुङ, चेपाङ, राई र दराई लगायत १२ भन्दा बढी जातजातिका दुर्लभ तथा रैथाने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

दलित समुदायको पञ्चेबाजा, स्थानीय कलाकारहरूको लोकदोहोरी गायन तथा विद्यालयका विद्यार्थीहरूको सांस्कृतिक नृत्यले दर्शकलाई मध्यरातसम्म मनोरञ्जन दिएको थियो। दिउँसोदेखि सुरु भएको कार्यक्रम राति १० बजेसम्म सञ्चालन भएको थियो।

उत्सव परिसरमा राखिएका १४ वटा व्यापारिक तथा प्रवर्द्धनात्मक स्टलहरू पनि आगन्तुकको आकर्षण बनेका थिए। स्टलहरूमा विभिन्न जातजातिका रैथाने परिकार, माडीका स्थानीय माछा तथा दुग्धजन्य सामग्री, घरेलु उत्पादन, हस्तकला तथा होमस्टे प्रवर्द्धन सामग्री प्रदर्शन गरिएको थियो। “मौलिक खाना पर्व” उत्सवको मुख्य आकर्षण बनेको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै माडी नगरपालिकाकी नगर प्रमुख ताराकुमारी काजी महतोले माडीको सांस्कृतिक विविधता नै यहाँको मुख्य पहिचान र सम्पत्ति भएको बताउँदै यस्ता अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

त्यसैगरी माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद सापकोटाले विभिन्न समुदायबीच आपसी सद्भाव, पहिचान र सांस्कृतिक गौरवलाई थप बलियो बनाउने उद्देश्यले उत्सव आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्नुका साथै सामाजिक एकता र सहिष्णुताको भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उत्सवमा प्रदेश सांसद ठाकुर प्रसाद ढकाल, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, विभिन्न सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

स्थानीयवासीले माडीको इतिहासमा यति बृहत् स्तरमा विविध समुदायलाई एकै स्थानमा जोडेर आयोजना गरिएको यो पहिलो ऐतिहासिक कार्यक्रम भएको प्रतिक्रिया दिएका छन्। “समृद्ध समाजको आधार — मौलिक संस्कृति र सामाजिक एकता” भन्ने मूल नारालाई व्यवहारमै उतारेको उत्सवले माडीको सामाजिक सद्भावसँगै स्थानीय अर्थतन्त्र र पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्‍याएको सहभागीहरूको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>