चितवन विशेष
नारी अभ्युदय केन्द्रले दियो दृष्टिविहीनलाई सेतो छडी

चितवन, जेठ १०–
चितवनको नारायणघाटस्थित नारी अभ्युदय केन्द्रले दृष्टिविहीन व्यक्तिहरूलाई सेतो छडी वितरण गरेको छ । केन्द्रको ३६औँ स्थापना दिवसको अवसर पारेर आज ३१ जना दृष्टिविहीनलाई सेतो छडी वितरण गरिएको हो ।
चितवन नेत्रहीन संघमा आवद्ध दृष्टिविहीन व्यक्तिहरूलाई सहयोगस्वरूप छडी वितरण गरिएको कार्यक्रम संयोजक छायाँ श्रेष्ठले जानकारी दिनुभयो । “मेरो आँखा, तिम्रो दृष्टि” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले दृष्टिविहीन व्यक्तिहरूलाई आत्मविश्वास बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रकी अध्यक्ष विष्णुकुमारी रायमाझीका अनुसार स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रमको सुरुवात गरिएको हो । संस्थाका सदस्यहरूबाट सहयोग संकलन गरी दृष्टिविहीनलाई आवश्यक सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा केन्द्रकी संस्थापक अध्यक्ष कस्तुरी श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले दृष्टिविहीन व्यक्तिहरूलाई दैनिक जीवन र जीविकोपार्जनमा सहजता ल्याउन यस्ता सहयोग उपयोगी हुने बताउनुभयो । दृष्टिविहीन व्यक्तिहरूलाई समाजले साथ र सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।























