चितवन विशेष
चितवनमा प्रहरी जवान भोजराज श्रेष्ठ ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

भरतपुर, जेठ ५-
जिल्ला प्रहरी कार्यालय चितवनले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित प्रदान गर्दै आएको “बेस्ट पुलिस अफ द मन्थ” सम्मान अन्तर्गत प्रहरी जवान भोजराज श्रेष्ठ सम्मानित भएका छन्। उनलाई २०८३ साल वैशाख महिनाको उत्कृष्ट प्रहरी कर्मचारीका रूपमा घोषणा गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी गरिएको सम्मानपत्रमा प्रहरी जवान श्रेष्ठले अपराध अनुसन्धान, फरार प्रतिवादी पक्राउ, शान्ति सुरक्षा कायम तथा संगठनले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दै उल्लेखनीय योगदान पुर्याएको उल्लेख गरिएको छ। कार्यालयका अनुसार उनले विभिन्न अनुसन्धान तथा प्रहरी कारबाहीका क्रममा सक्रिय भूमिका निर्वाह गर्नुका साथै सेवाप्रतिको समर्पण, अनुशासन र व्यावसायिक दक्षता प्रदर्शन गरेका थिए।
श्रेष्ठले विशेषगरी अनुसन्धान शाखामा कार्यरत रहँदा प्राविधिक विश्लेषण, सूचना संकलन तथा अपराध अनुसन्धानमा प्रभावकारी भूमिका खेलेका थिए। साथै प्रहरी संगठनले अवलम्बन गरेको नीति, निर्देशन तथा आचारसंहिताको पालना गर्दै नागरिकमैत्री सेवा प्रवाहमा समेत उल्लेखनीय योगदान दिएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी संगठनभित्र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा प्रोत्साहन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रत्येक महिना “बेस्ट पुलिस अफ द मन्थ” छनोट गर्दै आएको जनाएको छ।
यस प्रकारको सम्मानले प्रहरी कर्मचारीमा कार्यप्रेरणा बढ्नुका साथै संगठनप्रतिको जिम्मेवारीबोध थप मजबुत हुने विश्वास कार्यालयले लिएको छ। उक्त सम्मान जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीद्वारा प्रदान गरिएको हो। सम्मान कार्यक्रममा प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।


























