अर्थ
नेपालले ६ चोटि इन्धन भाउ बढाउँदा भारतमा बढ्यो पहिलोपल्ट

काठमाडौं, जेठ १-
इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको युद्धलाई कारण मान्दै भारतमा पहिलो पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि भएको घाटा पूर्ति गर्न भारतमा चार वर्षपछि पहिलो पटक यो मूल्यवृद्धि गरिएको भारतका डिलरहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।
तर, इन्धनमा भारतकै भर पर्ने नेपालले भने यही अवधिमा कम्तीमा आधा दर्जन पटक भाउ बढाइसकेको छ । अहिले नेपालमा पेट्रोलको भाउ प्रतिलिटर २ सय १७ रुपैयाँ, डिजेल र मट्टीतेल लिटरको २ सय २५ र ग्यास प्रतिसिलिन्डर २ हजार १ सय ६० रुपैयाँ छ । यसअघि २ वैशाखमा नेपाल आयल निगमले पेट्रोलको भाउ लिटरको २ सय १९, डिजेल र मट्टीतेल २ सय ३७ र ग्यास प्रतिसिलिन्डर २ हजार १० रुपैयाँ थियो ।
भारतका सरकारी तेल कम्पनीहरूले पेट्रोल र डिजेलको खुद्रा मूल्यमा प्रतिलिटर ३ भारु (करिब ३ प्रतिशत)ले वृद्धि गरेका छन् । विश्वकै तेस्रो ठूलो तेल आयातकर्ता र उपभोक्ता मुलुक भारत, इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको युद्धका कारण इन्धन मूल्य बढाउने अन्तिम प्रमुख अर्थतन्त्रहरूमध्ये एक बनेको छ ।
युद्धका कारण ‘स्ट्रेट अफ होर्मुज’ बाट हुने ढुवानीमा अवरोध आएपछि आपूर्ति व्यवस्था प्रभावित भएको छ । भारतका १ लाख ३ हजार पेट्रोल पम्पमध्ये ९० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने सरकारी कम्पनीहरू इन्डियन आयल कर्पोरेसन (आईओसी), हिन्दुस्तान पेट्रोलियम (एचपीसीएल) र भारत पेट्रोलियम (बीपीसीएल) ले प्रायः एकसाथ मूल्य निर्धारण गर्ने गर्छन् ।
आज शुक्रबारदेखि नै लागु हुने गरी गरिएको यो वृद्धिसँगै राजधानी दिल्लीमा डिजेलको मूल्य प्रतिलिटर ८७। दशमलव ७ बाट बढेर ९० दशमलव ६७ भारु र पेट्रोल ९४ दशमलव ७७ बाट बढेर ९७ दशमलव ७७ भारु पुगेको छ । यो क्रमश ३ दशमलव ४ प्रतिशत र ३ दशमलव २ प्रतिशतको वृद्धि हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय २० अमेरिकी डलरसम्म पुगेर अहिले १ सयदेखि १ सय ५ डलर आसपास छ ।

























