चितवन विशेष
चितवनको गुरुकुल सिए कलेजले छात्रवृत्ति प्रदान गर्न परीक्षा लिँदै

चितवन, वैशाख ३१-
चितवनको भरतपुरमा रहेको गुरुकुल सिए कलेजले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा लिने भएको छ । सिए फाउण्डेशन लेभलका लागि आगामी जेठ ५ गते छात्रवृत्ति परीक्षा लिन लागेको कलेजले आज (बिहीबार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
देशभर पाँच वटा शाखा रहेको गुरुकुल सिए कलेजले ९ जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्नेछ । जसमध्ये चितवनमा एक जना विद्यार्थीले शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् । ७५ प्रतिशत र ५० प्रतिशत छात्रवृत्ति एक एक जनाले प्राप्त गर्ने कलेजका अध्यक्ष सिए विशाल भट्राईले जानकारी दिनुभयो । छात्रवृत्ति परीक्षामा सहभागी विद्यार्थीले १० प्रतिशत छुट पाउने उहाँले बताउनुभयो ।
उहाँका अनुसार विज्ञान र व्यवस्थापन संकाय पढेका विद्यार्थीले परीक्षा दिन पाउनेछन् । आईक्यानद्धारा मान्यता प्राप्त सिएको कक्षा पाँच वर्षे अवधिको हुन्छ । काठमाडौँ, चितवन, विराटनगर, मोरङ र रुपन्देहीमा स्थापना भएको गुरुकुल सिए कलेज नेपालका उत्कृष्ट १० सिए कलेज भित्र पर्न सफल रहेको छ । देशभर सिए पढ्ने विद्यार्थी मध्ये ६० प्रतिशत विद्यार्थीे गुरुकुलमा रहेको कलेजको दावी छ । २०१५ सालमा स्थापना भएको यस गुरुकुल सिए कलेजको चितवन शाखामा गत वर्ष ८७ दशमलव ५ प्रतिशत विद्यार्थी पास भएको प्रबन्ध निर्देशक परसमा पौडेलले जानकारी दिनुभयो ।
यस कलेजले एसिसिएका कक्षा समेत गर्दै आएको छ । यहाँ सिए को पाँच वर्षे कोर्ष सक्नका लागि पाँच देखि सात लाख रुपैयाँ लाग्ने गर्दछ भने एसिसिएको गर्न ६ देखि ८ लाख रुपैयाँसम्म लाग्ने कलेजले जानकारी दिएको छ । कलेजले हरेक वर्षको जेठ महिनामा सिएको कक्षाका लागि भर्ना लिने गर्दछ ।


























