समाज

तीन दशकदेखि बेतबाँसका सामग्री निर्माणलाई जीविकोपार्जनको आधार बनाउँदै हिमाली डगौरा

Banner

कञ्चनपुर, वैशाख ३० –

शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन दशकदेखि बेतबाँसका सामग्री निर्माणलाई नै जीविकोपार्जनको आधार बनाउँदै आउनुभएको छ । परम्परागत सीपलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै उहाँले स्थानीयस्तरमै स्वरोजगारको उदाहरण प्रस्तुत गर्नुभएको हो ।

डगौराले हातैले बुनेर कुर्सी, टेबल, कलमदानी, मुढा, ह्याङ्गर, र्याक, भकारी, डोको, नाङ्लो, डाला र छापरीजस्ता घरायसी तथा कृषि प्रयोजनका सामग्री निर्माण गर्नुहुन्छ । सामग्री बनाउन आवश्यक बाँस स्थानीय सामुदायिक वनबाट खरिद गर्ने र बेत भने कैलालीबाट मगाउने गरेको उहाँ बताउनुहुन्छ ।

उहाँले तयार गर्ने बाँसको भकारी कैलाली र कञ्चनपुरका किसानमाझ लोकप्रिय छ । “सबैभन्दा बढी बिक्री हुने सामग्री भकारी नै हो”, उहाँले भन्नुभयो, “भकारी सात सयदेखि तीन हजार रुपैयाँसम्ममा बिक्री हुन्छ ।”

डगौराका अनुसार बेतबाँस बुन्ने परम्परागत सीप उहाँले घरका बूढापाकाबाट सिक्नुभएको हो । “बाबुबाजेले पनि बेतबाँसका सामग्री बनाउनुहुन्थ्यो, तर त्यो घरायसी प्रयोगका लागि मात्रै हुन्थ्यो”, उहाँले भन्नुभयो, “परम्परागत सीपलाई निखारेर व्यवसाय बनाउनुपर्छ भन्ने सोच थियो ।” उहाँले गाउँकै सामुदायिक वनमा सञ्चालन भएको तालिममा सहभागी भएर सीपलाई थप निखार्नुभएको हो । त्यसपछि थप तीनवटा तालिम लिएर बेतबाँसका सामग्री निर्माणमा दक्ष बनेको उहाँ बताउनुहुन्छ ।

डगौराको आफ्नै चार कट्ठा र ससुरालीबाट प्राप्त १२ कट्ठा जग्गा छ । तर खेतीपातीबाट मात्र परिवार पाल्न कठिन भएपछि उहाँले यही पेसालाई मुख्य आयस्रोत बनाउनुभएको हो । बेतबाँसकै कमाइबाट उहाँले सात सन्तानमध्ये छ जनाको विवाह खर्चसमेत व्यवस्थापन गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “जति धेरै माग आउँछ, त्यति धेरै आम्दानी हुन्छ, “कहिलेकाहीँ कम माग आउँदा आम्दानी पनि घट्छ ।” उहाँका अनुसार बेतबाँसका सामग्री बिक्रीबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ ।

पहिले सामग्री बुन्नमै व्यस्त रहने उहाँ अहिले दक्ष प्रशिक्षकका रूपमा समेत परिचित हुनुभएको छ । नगरपालिकाको उद्यम शाखा तथा विभिन्न सरकारी एवं गैरसरकारी निकायले सञ्चालन गर्ने तालिममा उहाँलाई मुख्य प्रशिक्षकका रूपमा आमन्त्रण गर्ने गरेका छन् ।

नगरपालिकाको उद्यम शाखाका प्रमुख धनबहादुर चौधरीका अनुसार डगौरा बेतबाँसका आकर्षक, बलिया र टिकाउ सामग्री निर्माणमा पोख्त भएकाले प्रशिक्षकका रूपमा समेत लोकप्रिय हुनुहुन्छ । “उहाँसँग अनुभव र व्यवहारिक सीप दुवै छ”, उहाँले भन्नुभयो, “त्यसैले तालिममा सहभागीलाई व्यावहारिक ज्ञान दिन उहाँलाई प्राथमिकतामा राख्ने गरेका छौँ ।”

स्थानीयवासीका अनुसार हिमालीले बनाउने सामग्री सुन्दर, बलिया र टिकाउ हुने भएकाले टाढाटाढाबाट ग्राहक माग गर्न आउने गरेका छन् । परम्परागत सीपलाई आधुनिक बजारसँग जोड्दै उहाँले स्थानीयस्तरमै आत्मनिर्भर बन्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>