समाचार
सरकारले न्यायपालिका र व्यवस्थापिकामा हस्तक्षेप गर्योः उपसभापति भुसाल

काठमाडौं, वैशाख २६-
नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले वर्तमान सरकारले अध्यादेशमार्फत न्यायपालिका र व्यवस्थापिकामाथी हस्तक्षेप गरेको बताएकी छिन् ।
शनिवार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संविधान संशोधन सम्बन्धी छलफल कार्यक्रममा उनले वर्तमान सरकारले संविधानको मर्मविपरीत अध्यादेशमार्फत कानुन संशोधन गरिरहेको आरोप लगाएकी हुन् । सरकारले संसद् छलेर अध्यादेशमार्फत आफ्नो स्वार्थअनुसार कानुन संशोधन गर्न खोजेको उनको भनाइ छ । संविधानले कानुनी शासन र शक्ति सन्तुलनको सिद्धान्तलाई आत्मसात् गरेको भए पनि सरकारले त्यसको मर्मविपरीत कदम चालेको उनले बताइन् ।
ुुसंविधानले कानुनी शासन मान्नुपर्छ भनेर हामीलाई निर्देशन गरेको छ । कानुन मान्ने प्रारम्भिक बिन्दु राज्यले गर्नुपर्छ । संसद् अधिवेशन घोषणा भइसकेको पूर्वसन्ध्यामा अधिवेशनलाई स्थगित गराएर अध्यादेशको माध्यमबाट आफ्नो स्वार्थ अनुसारको कानुन बनाएर म शासन गर्छु भन्ने सरकारले संविधानको मूल मन्त्रलाई स्वीकार गरेको छैन,ुु उनले भनिन् ।
संविधानले न्यायपालिका, व्यवस्थापिका, कार्यपालिका र विपक्षी दलको सहभागितामा परिषद् गठन गरी संवैधानिक निकायमा निष्पक्ष नियुक्तिको व्यवस्था गरेको उनको भनाइ छ ।
संवैधानिक परिषद्को मर्मविपरीत सरकारले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको उनले बताइन् । उनले संविधान संशोधन गर्न आवश्यक भए पनि त्यसको लागि वर्तमान सरकार इमानदार हुनुपर्ने बताइन् । सरकारले गठन गरेको संविधान संशोधन कार्यदलले संविधान संशोधन गर्न नसक्ने दाबी उनको छ ।

























