Breaking News
दाजुभाइ विदेशमा छन, भाइटीका स्मृतिमा मात्र छ :दिदीबहिनी

काठमाडौं,कार्तिक २४-
विगत २० वर्षदेखि भाइटीकाका दिन टीका लगाउन नपाउँदा सञ्चारकर्मी सहनशीला शर्माको हात खाली नै रहने गरेको छ । चार दिदिबहिनीका एकजना भाई बेलायतको लण्डन बस्न थालेको २० वर्ष भयो । त्यसयता सहनशीलाका दिदिबहिनीले भाईटीकाका दिन भाईलाई प्रत्यक्ष भेट्न पाएका छैनन् ।
मिडिया हाउसका कार्यकारी निर्देशक सहनशीला प्रत्येक वर्ष भाइतिहारमा भाईको बाटो कुर्छिन्, तर भाईलाई सामन्ने नपाउँदा दुख मान्नुबाहेक उनीसँग अर्को विकल्प रहँदैन ।
हरेक वर्ष तिहार आउँछ, बजारमा फूलमाला र टीकाको रौनक पनि छाउँछ तर सहनशीलाका लागि भने भाइटीका पुरानै सम्झनामा मात्र सीमित रहँदै आएको छ ।
सहनशीला चारजना दिदीबहिनी र एक भाई सबै नै फरक–फरक देशमा छन् । ‘दूरीले टाढा बनाए पनि भाइटीकाको आत्मीयता भने घटेको छैन’उनी भन्छिन् ।
भाइटीकाका दिन उनीहरू फोन र भिडियो कलमा कुरा गर्छन् । दिदीबहिनीले भाइलाई उपहार पठाउँछन् भने भाइले पनि दक्षिना पठाउँछन् । तर फोनमा देखिने अनुहार र प्रत्यक्ष भेटेर सँगै बसेर टीका लगाउँदाको खुसी एउटै नहुने सहनशीलाको अनुभव छ ।
आफ्नो भाइबाहेक काका वा ठूलोबुवाका छोराहरूलाई टीका लगाउने चलन पनि उनीहरूको परिवारमा छैन । सबैका आ–आफ्नै दिदीबहिनी भएकाले अरूलाई टीका लगाउने नगरेको उनी बताउँछिन् ।
चारजना दिदीबहिनी मिलेर भाइलाई टीका लगाइदिने, जिस्किने र हाँसोठट्टा गर्ने ती क्षण उनका लागि निकै प्रिय छन् । भाइले दक्षिणा दिँदा दिदीबहिनीलाई जिस्क्याउने गरेको सम्झँदा अहिले पनि उनी अतितको स्मृतिमा डुब्न पुग्छिन् ।
सहनशीला दिदिबहिनीको मात्र होइन् अन्य थुप्रै नेपाली दिदिबहिनीको पनि यस्तै व्यथा छ ।
प्रमिला बस्नेतका भाइ पनि दुई वर्षदेखि विदेशमा छन् । यसपालिको तिहार उनी घरमै सामान्य रूपमा मनाउने योजनमा छिन् । भाइ विदेश गएदेखि नै उनले टीका लगाउन पाएकी छैनन् । आफ्नो भाइबाहेक अरू कसैलाई टीका नलगाउने गरेको बताउने प्रमिला भाइ फर्किएपछि विशेष रूपमा तिहार मनाउने प्रतीक्षामा छिन् ।
‘भाइ साथमा नहुँदा अलि नरमाइलो महसुस हुन्छ । भाइ हुँदा तिहारको माहोल नै फरक हुन्छ । भाइ नहुँदा खासै तिहार आएकोजस्तो नै महसुस हुँदैन । तिहार नै छैन जस्तो लाग्छ,’ उनी भन्छिन् ।
अघिपछिभन्दा तिहारमा भाइको याद बढी आउने अनुभव साट्दै उनी भाइसँगै हुँदा सँगै बसेर टीका लगाउने, रमाइलो गर्ने र उपहार साटासाट गर्ने क्षण अहिले सम्झनामा मात्र सीमित रहेको बताउँछिन् ।
रत्ना रायमाझीका लागि भने यसपालिको तिहारमा भाइको सम्झनासँगै वियोग पनि जोडिएको छ । उनका चार दाजुभाइमध्ये एकजनाको हालै निधन भएको छ । बाँकी तीनजना पनि फरक–फरक ठाउँमा छन् ।
उनका सबै दाजुभाई फरकफरक ठाउँमा रहेको बताउने रत्नामा यसपालिको तिहारमा विगतको जस्तो खुसी छैन ।
‘मेरो भाइ भर्खरै बितेका छन् । हामी शोकमा छौं । त्यसैले यसपालिको तिहार त्यति राम्रो छैन,’ उनी भन्छिन् ।
सानैदेखि तिहारलाई दाजुभाइ र दिदीबहिनीबीचको मधुर सम्बन्धका दृष्टिले विशेष दिनका रूपमा लिने गरेको उनी बताउँछिन् । भाइटीकाको दिन परिवारसँगै बसेर मनाउँदाको खुसी सम्झँदा मन आनन्दित हुने भएपनि यसपालि भने भाइको अभावले तिहार नै नरमाइलो बनेको उनको अनुभव छ ।
त्यसैगरी,समाजसेवामा सक्रिय सुशीला खड्काका लागि पनि यसपटकको तिहारमा विगतको जस्तो उत्साहजनक छैन । उनका भाइ अस्ट्रेलियामा छन् । भाइलाई टीका नलगाएको दुई वर्ष भइसकेको छ । उनका अनुसार टाढिएको परिवार र भाइसँगको दूरीले तिहारको खुसीमा पनि केही खालीपन थपेको छ ।
विगतमा परिवारसँग मिलेर मनाएका तिहार र बाल्यकालका रमाइला क्षणहरू उनको सम्झनामा अझै ताजा छन् । भाइसँग बिताएका ती दिन सम्झिँदा उनी भावुक हुन्छिन् । पहिलेको जस्तो पारिवारिक जमघट र आत्मीयता अहिले महसुस गर्न नपाएको उनको भनाइ छ ।
‘तिहार आउँदा पुराना यादहरू धेरै आउँछन् । बाल्यकालमा मनाएको जस्तो रमाइलो त कहिल्यै भएन । समयसँगै सबै कुरा परिवर्तन हुँदै जाँदो रहेछ,’ उनी भन्छिन् । दुई वर्षदेखि भाइको निधारमा सप्तरङ्गी टीका लगाउन नपाएकी सुशीलाका लागि तिहार अहिले उत्सवभन्दा बढी सम्झना र भावनासँग जोडिएको पर्व बनेको छ ।
























