समाचार
मिडिया सरकारको प्रतिपक्ष हुनुपर्छः विजुक्छेँ

भक्तपुर, वैशाख १९-
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले मिडियाले सधैं प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। शनिबार भक्तपुरमा ‘सम्पादकीय संकलन (तेश्रो खण्ड)’ र ‘एकक्षण’ पुस्तक सार्वजनिक गर्दै उनले सरकारका कामकारबाहीमा रहेका कमजोरीहरू उजागर गर्नु मिडियाको दायित्व भएको बताए।
उनले आलोचनात्मक सोच घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै युवाहरूमा समालोचनात्मक दृष्टिकोण विकास गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, सरकारका गल्ती कमजोरीमा युवाहरूले पनि प्रश्न उठाउनुपर्ने उनले बताए। अर्को प्रसंगमा विजुक्छेँले आफ्नो पार्टी अन्तर्राष्ट्रियवादी रहेको उल्लेख गर्दै प्रकाशनहरूमा अन्तर्राष्ट्रिय मुद्दालाई प्राथमिकता दिँदै आएको बताए।
कार्यक्रममा बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले विचार र सिद्धान्तमा अडिग दलहरूले देशलाई सही दिशा दिने उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीले त्यही भूमिका निर्वाह गरिरहेको बताए।


























