चितवन विशेष
पत्रकार महासङ्घ चितवनको साधारणसभामा तीन पत्रकार पुरस्कृत

चितवन, वैशाख १८-
नेपाल पत्रकार महासङ्घ चितवन शाखाको २२औँ साधारणसभामा तीनजना पत्रकारलाई पुरस्कृत गरिएको छ । महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले तीन विधामा पुरस्कृत हुनेहरूलाई आज पुरस्कार प्रदान गर्नुभएको हो ।
मैयाँदेवी पत्रकारिता पुरस्कारबाट पत्रकार अनिल ढकाल, बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कारबाट दिप्ती विश्वकर्मा र सुजुश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट पूजा ढकाल पुरस्कृत हुनुभएको हो । मैयादेवी पत्रकारिता पुरस्कारको राशि रु ५१ हजार छ भने अन्य दुई पुरस्कारको राशि ११ हजार रहेको छ ।
पुरस्कार वितरणपछि आचार्यले प्रेस स्वतन्त्रताको पक्षमा महासङ्घ निरन्तर लागिरहने बताउनुभयो । सरकारी विज्ञापन निजी मिडियालाई नदिँदा देशभरका मिडिया धराशयी हुने भएकाले यसमा सरकारको ध्यान जानुपर्ने भन्दै उहाँले समग्र पत्रकारहरू पनि आचारसंहिताभित्र रहेर काम गर्नुपर्ने बताउनुभयो । पछिल्ला दिनहरूमा पत्रकारिता र सञ्चारमाध्यममाथि नियन्त्रित हुने खालका गतिविधि भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले पत्रकार महासङ्घ, सम्बद्ध सङ्घसंस्था र पत्रकारहरूसँग सहकार्य गरेर काम गर्न महानगर तयार रहेको बताउनुभयो । साधारणसभामा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साधारणसभा सफलताको शुभकामना दिँदै पत्रकारको सुरक्षाका लागि प्रतिबद्ध भएको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य नारायण अधिकारी,बागमती प्रदेश महासचिव राधेश्याम खतिवडा,पत्रकार महासंघका सल्लाहकार प्रकाशमणि ज्ञवाली,प्रेस युनियनका अध्यक्ष अनिल ढकाल,प्रेस चौतारीका उपाध्यक्ष रामकान्त पौडेल,प्रेस सेन्टरका अध्यक्ष राजेन्द्र आचार्य लगायतले साधारण सभालाई शुभकामना दिनुभएको छ । उपाध्यक्ष दिपेन्द्र अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको साधारणसभामा जन्मदिनको अवसर पारेर महासंघका सचिव राजेश घिमिरेले अक्षयकोषका लागि २० हजार १ सय १८ रुपैंया सहयोग गर्नुभएको थियो ।
महासङ्घका अध्यक्ष वसन्त पराजुलीको सभापतित्वमा भएको कार्यक्रमपछिको बन्द सत्रमा सचिव राजेश घिमिरे र कोषाध्यक्ष कृष्ण आचार्यले आफ्ना प्रतिवेदन पेस गर्नुभएको थियो ।
























