चितवन विशेष

बैशाख १८ गते क्याम्पाचौरमा हुने सांस्कृतिक कन्सर्टको तयारी अन्तिम चरणमा

Banner

चितवन, वैशाख १५-

गुरुङ समुदायको कुलघर ‘क्होइबो’ निर्माण गर्ने उद्देश्यका साथ चितवनमा आयोजना गर्न लागिएको सांस्कृतिक कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । तमू प्ये ल्हु संघले यही वैशाख १८ गते बुद्ध जयन्तीको दिन आयोजना गर्ने सांस्कृतिक कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको आज (मंगलबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

बुद्ध जयन्तीको अवसर पारेर चितवनको क्याम्पाचौरमा साँझ ३ बजेदेखि राति १० बजेसम्म हुन लागेको कन्सर्टको पत्राचार, टिकट बिक्री तथा कार्यक्रम स्थल निर्माणको काम जारी रहेको संघका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिनुभयो । सो दिन गुरुङ समुदायको संस्कार तथा संस्कृति विधान (फूतासो) दिवस समेत परेकाले कार्यक्रमलाई विशेष महत्वका साथ आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

कन्सर्टमा एक्सिस ब्याण्ड, लिल झोला ब्याण्ड, साथै मन्त्र घिमिरे, यमूना गुरुङ र प्रविन गुरुङको प्रस्तुति रहनेछ । कार्यक्रममार्फत संकलित रकम कुलघर निर्माणमा खर्च गरिने उहाँले बताउनुभयो । कार्यक्रमले गुरुङ समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

भरतपुर महानगरपालिका–४, यज्ञपुरीमा निर्माण हुन लागेको कुलघर ‘क्होइबो’ को लागत करिब एक करोड रुपैयाँ अनुमान गरिएको छ । कन्सर्ट सम्पन्न गर्न करिब ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको संघले जनाएको छ । कार्यक्रमबाट करिब ९० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ । संघका अनुसार कुलघर निर्माणका लागि आवश्यक जग्गा खरिद गरिसकिएको छ र अब निर्माण कार्य अघि बढाइनेछ । निर्माण सम्पन्न भएपछि जिल्लाभरका गुरुङ समुदायले उक्त स्थानमा सामूहिक पूजा गर्न सक्नेछन् ।

कन्सर्टका लागि ५००, १०००, २००० र ५००० रुपैयाँभन्दा माथिका टिकट दर निर्धारण गरिएको छ । संघमा हाल ३३ वटा इकाइ सक्रिय रहेका छन् भने दुई वटा पालिकामा संस्थागत संरचना विस्तार भइसकेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>