समाचार

थापाथलीका सुकुम्बासीः केही आन्दोलनमा, केही माइकिङको भरमा सामान जोगाउँदै

Banner

काठमाडौँ, वैशाख ११ –

शुक्रबार बिहानैदेखि थापाथली सुकुम्बासी बस्ती असामान्य रूपमा व्यस्त देखिन्छ। गल्लीहरूमा बाकस, ओछ्यान, भाँडाकुँडा र लत्ताकपडाका थुप्रा सजिएका छन्। केही गाडीहरू सामान बोकेर बाहिरिँदै छन्, भने कतिपय घरबाहिर अझै पनि मानिसहरू आफ्नो थोरै सम्पत्ति मिलाउँदै, जोगाउँदै छन्।

सरकारले नदी किनारका सुकुम्बासी बस्ती खाली गर्ने निर्णय गरेसँगै यहाँका बासिन्दाहरूले आफ्नो सामान सार्न थालेका हुन्। तर, सामान सार्ने हतारसँगै अनिश्चितता र डर पनि उत्तिकै देखिन्छ उनीहरुमा

“हामीलाई कहाँ राख्ने भन्ने कोही आएर भनेको छैन। हिजो माइकमै ‘सामान सुरक्षित राख्नु’ भनेर मात्रै भने। त्यसैले हामी सामान जोगाइरहेका छौं, तर बस्ने ठाउँ त कतै छैन” एक महिला ले भनिन् ।

बस्तीका केही भागमा भने विरोध प्रदर्शन पनि जारी छ। प्लेकार्ड बोकेका सुकुम्बासीहरूले सत्तारूढ दलको वाचा सम्झाउँदै व्यवस्थापनको माग गरिरहेका छन्। उनीहरूको मुख्य चिन्ता एउटै छ स्थानान्तरण भए पनि रोजगारी र दैनिक जीवन प्रभावित नहोस्।

“हामी काम गरेर पेट पाल्ने मान्छे हौं,” अर्का एक बासिन्दा भन्छन्, “जहाँ राखे पनि काम गर्न सजिलो हुने ठाउँ हुनुपर्छ। बालबच्चा पढाउनुपर्छ, गाडी चढ्न मिल्ने ठाउँ चाहिन्छ।”केही दिनअघि प्रहरी टोली आएर निरीक्षण गरेर गएको बाहेक, नगरपालिकाबाट कुनै प्रत्यक्ष समन्वय नभएको उनीहरूको भनाइ छ।

“हामी रहरले यहाँ बसेका होइनौं, बाध्यताले बसेका हौं,” एक वृद्धले भने, “अब सरकारले व्यवस्थापन गर्छु भनेको छ, तर कहिले र कसरी त्यो थाहा छैन।”
अहिलेका लागि धेरैजसो परिवारले राति पनि यहीँ बस्ने निर्णय गरेका छन्।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>