खेलकुद
भारतले न्युजिल्यान्डलाई दियो २५६ रनको विजयी लक्ष्य

काठमाडौं, फागुन २४-
आइसिसी टी–२० विश्वकप २०२६ को उपाधि भिडन्तमा घरेलु टोली भारतले न्युजिल्यान्डसामु २ सय ५६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
अहमदाबादमा जारी फाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५५ रनको बलियो योगफल खडा गरेको छ।
भारतलाई विशाल स्कोरसम्म पुर्याउन शीर्ष क्रमका ब्याटरहरूले आक्रामक पारी खेलेका छन्। ओपनर सञ्जु सामसनले सर्वाधिक ८९ रनको महत्त्वपूर्ण योगदान दिएका छन्। उनले ४६ बलमा ५ चौका र ८ छक्का प्रहार गरेका छन्।
त्यसैगरी, इशान किशनले २५ बलमा ४ चौका र ४ छक्कासहित ५४ रन बनाएका छन्। अर्का ओपनर अभिषेक शर्मा २१ बलमा ५२ रन बनाएर पभेलियन फर्किएका छन्। अन्तिम ओभरहरूमा आक्रामक ब्याटिङ गर्दै शिवम दुवेले मात्र ८ बलमा ३ चौका र २ छक्काको मद्दतमा अविजित २६ रन जोडेका छन् भने तिलक वर्मा ८ रनमा अविजित रहेका छन्।
भारतीय ब्याटरले सानदार प्रदर्शन गरिरहँदा १६औँ ओभरमा न्युजिल्यान्डका जेम्स निसमले बलिङमा पुनरागमन गराएका छन्। उनले एकै ओभरमा सामसन, किशन र कप्तान सूर्यकुमार यादवलाई आउट गर्दै ३ विकेट लिएका छन्। कप्तान यादव ‘गोल्डन डक’ को सिकार बनेका छन्। निसमले आफ्नो ४ ओभरको स्पेलमा ४६ रन खर्चिएर ३ विकेट लिएका हुन्। त्यसैगरी, म्याट हेनरी र रचिन रविन्द्रले समान १–१ विकेट लिएका छन्। तल्लो क्रममा आएका हार्दिक पाण्ड्या १८ रन बनाएर हेनरीको बलमा आउट भएका छन्। न्युजिल्यान्डका लोकी फर्गुसनले २ ओभरमै ४८ रन खर्चिएका छन्।
पहिलो टी–२० विश्वकप उपाधि चुम्नका लागि न्युजिल्यान्डले अब भारतले प्रस्तुत गरेको यस विशाल लक्ष्य सफलतापूर्वक पछ्याउनुपर्नेछ। घरेलु मैदान र हजारौँ दर्शकको अपार साथ पाएको भारतीय टोलीको प्रदर्शनलाई हेर्दा न्युजिल्यान्डसामु यो लक्ष्य भेटाउन सहज नहुने प्रस्ट हुन्छ।



























