देश/प्रदेश

पोखरामा विदेशी पर्यटकले मनाए भाइटीका

०
Banner

कास्की, कात्तिक २५–
नेपालीको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक रौनकमा सहभागी हुँदै पोखरा आएका विदेशी पर्यटकले भाइटीका मनाएका छन् ।

होटल सङ्घ पोखरा नेपालको आयोजनामा पोखरा–६, लेकसाइडस्थित होटल पौवामा आज आयोजित १९औँ भाइटिका महोत्सवमा १५ देशका ५१ जना विदेशी पर्यटक सहभागी भएका थिए । महोत्सवमा रेन्वो चिल्ड्रेन होम नेपालका छात्राहरूले विदेशी पर्यटकलाई टीका र माला लगाइदिएर भाइटिका मनाएका हुन् ।

नेपाली परम्पराअनुसार भाइटीका लगाउन पाउँदा पर्यटक उत्साहित देखिन्थे । उनीहरूले देउसीभैलो, नाचगान र सांस्कृतिक प्रस्तुतिमा सहभागी हुँदै नेपाली परिकार सेलरोटीको स्वादसमेत लिए । टीका लगाएपछि महिला पर्यटकलाई पछ्यौरा र पुरुष पर्यटकलाई ढाकाटोपी उपहार प्रदान गरिएको थियो ।

अमेरिका, बेलायत, चीन, जापान र अस्ट्रेलियालगायत १५ देशका पर्यटक सहभागी महोत्सवले विदेशीलाई नेपाली चाडपर्व र संस्कृतिको प्रत्यक्ष अनुभव गराउने अवसर जुटाएको आयोजकले जनाएको छ ।

महोत्सवमा सहभागी लिथुआनियाकी पर्यटक मोनिकाले नेपाली जनताको आत्मीय व्यवहार र तिहार मनाउने शैली आफूलाई निकै मन परेको बताउनुभयो । नेपालीसँगै बसेर भाइटीका मनाउन पाउँदा नयाँ र रमाइलो अनुभव भएको उहाँको भनाइ थियो ।

मर्दी हिमाल पदयात्राका क्रममा प्रतिकूल मौसमका कारण हिमाल राम्रोसँग देख्न नपाए पनि पदयात्रा र नेपाली संस्कृतिको अनुभवले नेपाल बसाइ स्मरणीय बनेको उहाँले बताउनुभयो ।

“नेपालमा तिहार मनाउने तरिका देखेर मलाई निकै उत्साह लाग्यो । हामीले यहाँ धेरै रमाइलो गर्‍यौँ । स्वदेश फर्किएपछि नेपाली भाइटिका र यहाँको संस्कृतिबारे साथीहरूलाई पनि सुनाउनेछु”, उहाँले भन्नुभयो ।

होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले भाइटीका महोत्सवलाई निरन्तरता दिँदै आएपछि पोखराका विभिन्न होटलमा समेत विदेशी पर्यटकलाई टीका लगाउने कार्यक्रम हुन थालेको बताउनुभयो । नेपाली संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गर्नुका साथै आपसी भाइचारा र सांस्कृतिक सम्बन्ध अभिवृद्धि गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।

“तिहारको सांस्कृतिक महत्त्वलाई अन्तरराष्ट्रियस्तरमा परिचित गराउने र संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विगत १९ वर्षदेखि भाइटीका महोत्सव आयोजना गर्दै आएका छौँ । यसबाट नेपालको संस्कृति र परम्परालाई विश्वमाझ चिनाउन सहयोग पुगेको छ”, अध्यक्ष सुवेदीले भन्नुभयो ।

भाइटीका महोत्सवलाई नेपाल पर्यटन बोर्ड गण्डकी र पोखरा महानगरपालिकाले प्रवर्द्धन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>