तनहुँ

शतचण्डी महायज्ञ एवम् देवघाट माघ महोत्सवमा दुई करोड ३४ लाख आम्दानी

Banner

तनहु बुधबार ५-

पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा सञ्चालित शतचण्डी महायज्ञ एवम् देवघाट महोत्सवमा कुल दुई करोड ३४ लाख ५२ हजार रुपैयाँ आम्दानी भएको छ ।

माघ १९ देखि फागुन ३ गतेसम्म सञ्चालित महायज्ञ एवम् देवघाट महोत्सव स्थलमा नगद र बोलकबोल रकम गरी दुई करोड ३४ लाख ५२ हजार रुपैयाँ आम्दानी भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महायज्ञका सङ्कल्पकर्ता एवम् श्री दुर्गा पाञ्चायन मन्दिर (श्री राम राम मन्दिर) देवघाटका संरक्षक कथा वाचक आचार्य शीतलकृष्ण महाराजकाअनुसार महायज्ञमा नगद भने जम्मा ७८ लाख ३५ हजार रुपैयाँ सङ्कलन भएको छ । बाँकी एक करोड ५६ लाख १७ हजार रुपैयाँ मन्दिरको पुनर्निर्माण सुरु भएपछि दाताहरुले सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार आम्दानीमध्ये ६८ लाख ३३ हजार रुपैयाँ खर्च भएको छ । बोल रकम र नगद गरी महायज्ञबाट एक करोड ६६ लाख १९ हजार रुपैयाँ बचत भएको उहाँले जानकारी दिनुभयो । महायज्ञका क्रममा वरण, दक्षिणा एवम् पारिश्रमिकमा २२ लाख ७१ हजार रुपैयाँ, खाद्यान्न तरकारी तथा फलफूल र डेरीमा पाँच लाख ६८ हजार रुपैयाँ, कपडा, फूलमाला एवम् पूजा सामग्रीमा तीन लाख ८४ हजार, स्टेशनरी, फेन्सी तथा विद्युत्मा पाँच लाख २८ हजार, आवासमा दुई लाख ७५ हजार, गाडी भाडामा एक लाख ४८ हजार खर्च भएको उहाँले बताउनुभयो । त्यसैगरी, छापाखाना एवम् प्रिन्टमा एक लाख ४८ हजार, प्रचारप्रसारमा आठ लाख ८० हजार, इन्धनमा एक लाख ६३ हजार, विविध निर्माणमा आठ लाख ८२ हजार तथा साउण्ड सिस्टममा तीन लाख ९९ हजार रुपैयाँ खर्च भएको आचार्य शीतलकृष्णले जानकारी दिनुभयो ।

महायज्ञका क्रममा चितवनतर्फ नारायणी नदी किनार र तनहुँतर्फ मन्दिर भएको स्थानमा भक्तजनहरुका लागि निःशुल्क भण्डारा, आवासको व्यवस्था गरिएको थियो । महायज्ञ एवम् देवघाट आएका भक्तजनका लागि धेरै आश्रममा निःशुल्क र केही आश्रममा संस्थाले नै रकम तिर्ने गरी भक्तजनहरुलाई निःशुल्क आवासको व्यवस्था गरिएको उहाँको भनाइ छ । महायज्ञ सम्पन्न गर्नका लागि न्यूनतम खर्च गरिएको भन्दै उहाँले अब मन्दिर पुनर्निर्माणको काम सुरु भएको बताउनुभयो ।

महायज्ञ सकिएको ४८ घण्टाभित्र नै पत्रकार सम्मेलन गरी आफूहरुले सम्पूर्ण आम्दानी र खर्चको हिसाबकिताब सार्वजनिक गरेको भन्दै उहाँले अबको कामको पनि आर्थिक कारोबार पारदर्शी रहने बताउनुभयो । महायज्ञका अवसरमा देवघाटधाममा नेपालका पूर्वदेखि पश्चिमसम्मका जिल्लासहित भारतको सिक्किम, सिलिगुडी, दिल्लीलगायतका ठाउँबाटसमेत भक्तजनहरु आएका बताउनुभयो । मन्दिरको गुरुयोजनाअनुसार काम सम्पन्न गर्न करिब पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको भन्दै आचार्य शीतलकृष्ण महाराजले अपुग रकम विभिन्न स्थानमा हुने धार्मिक अनुष्ठानबाट सङ्कलन गरिने बताउनुभयो ।

गुरुयोजनाअनुसार मन्दिरसँगै यहाँ आउने भक्तजनहरुको लागि आश्रम समेत निर्माण गरिनेछ । नयाँ बन्ने आश्रमको भवनमा भक्तजनको लागि आवाससँगै बैठक कोठा तथा कार्यालय रहने गरी डिजाइन गरिएको उहाँले बताउनुभयो । महायज्ञ सकिए पनि दाताहरुले मन्दिरमै गएर स्वेच्छिकरुपमा दान गरी कल्याणको काम गर्न सक्ने उहाँले बताउनुभयो ।

महायज्ञमा भएको फोहोरलाई आफूहरुले व्यवस्थापन गरिरहेको दुर्गा पाञ्चायन मन्दिर ९श्री राम राम मन्दिर०का निवर्तमान अध्यक्ष सन्तोषजनक भुसालले बताउनुभयो । महायज्ञका अवसरमा नारायणी नदी किनारमा पण्डाल निर्माण गरेर कथा प्रवचन गरिएको थियो भने मन्दिरको हवन कुण्डको अग्नि ल्याएर देवघाटको बेनी सङ्गममा हवन गरिएको थियो । नदी किनारको पण्डाल उठाएपछि नदीकिनारलाई पूर्णरुपमा सरसफाइ गरी पहिलेको भन्दा अझै राम्रो अवस्थामा पु¥याइने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>