अर्थ
विद्युत उत्पादन भएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्न पाउने

काठमाडौं, साउन ८-
नियामक नेपाल धितोपत्र बोर्डले जलविद्युत् कम्पनीहरूलाई कडाइ गर्दै लगेको छ । जलविद्युत् क्षेत्रका कम्पनीहरूले व्यावसायिक बिजुली उत्पादन (सीओडी) थालेपछि मात्र प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न पाउने व्यवस्था गर्न लागिएको छ ।
आगामी आर्थिक वर्षको धितोपत्र बजार र वस्तु विनियम बजारसम्बन्धी नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गर्दै बोर्डले यस्तो व्यवस्था गर्न लागेको जानकारी दिएको हो । बोर्डले धितोपत्र निष्कासन नियमावली परिमार्जन गरिरहेको छ । सम्भवतः यही साउनभित्र यस्तो व्यवस्था हुने बोर्डले जनाएको छ । जलविद्युत् आयोजना ठूलो लगानी (क्यापिटल इन्टेन्सिभ) हुने भएकाले संस्थापकले मात्र स्वपुँजी (इक्विटी) जुटाउन कठिन हुने देखिएको छ ।
खुद सम्पत्ति (नेटवर्थ) ९० रुपैयाँभन्दा कम भएका जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन रोकेको बोर्डले अब आयोजनाबाट व्यवसायिक विद्युत् उत्पादन थालेपछि मात्र आईपीओ निष्कासन गर्न दिने भएको छ । आयोजना निर्माण गर्दागर्दै लगानी जुटाउन आईपीओ निष्कासन गर्दै आएकामा अब उत्पादनमा गएका आयोजनाका कम्पनीले मात्र सेयर निष्कासन गर्न पाउने भएपछि जलविद्युत् प्रवर्द्धकलाई लगानीको समस्या हुने देखिएको छ । आयोजना बनाउन बैंकबाट थप ऋण लिनुपरेपछि ब्याज दायित्व थपिएर जलविद्युत् कम्पनीहरूको लागत बढ्ने देखिएको छ ।

























