मनोरञ्जन
चलचित्र प्रचारका लागि कलाकार पक्राउको नाटक, भ्रम फैलिएपछि बिक्की अग्रवालले प्रहरीलाई दिए स्पष्टीकरण

काठमाडौँ ,कात्तिक २८ –
नेपाली चलचित्र ‘ककाकिकी’का निर्देशक बिक्की अग्रवालले ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारहरूलाई प्रहरीले नियन्त्रणमा लिएको दृश्य चलचित्रको प्रचारका लागि मञ्चन गरिएको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा कलाकारहरू पक्राउ परेको भन्दै भिडियो सार्वजनिक भएपछि निर्देशक अग्रवालले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र लेख्दै वास्तविक पक्राउ नभएको स्पष्टीकरण दिएका हुन् ।
शनिबार आयोजित चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारहरूले प्रश्न गरिरहेका बेला अचानक प्रहरी पोसाकमा आएका चार–पाँच जना व्यक्ति हलभित्र प्रवेश गरेका थिए । उनीहरूले कार्यक्रम रोकेर निर्देशक अग्रवालसहित कलाकारहरू गौरी मल्ल, मनोज गजुरेल र शिशिर वाङ्देललाई नियन्त्रणमा लिएको शैलीमा हलबाट बाहिर निकाल्दै प्रहरी भ्यानमा राखेका थिए ।
उक्त दृश्यपछि कलाकारहरू पक्राउ परेको भन्दै भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । आयोजकले भने त्यसबेलै उक्त गतिविधि चलचित्रको प्रचारका लागि तयार पारिएको जानकारी दिएका थिए ।
माया इन्टरटेनमेन्ट स्टुडियो प्रालिका तर्फबाट जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुखलाई पठाइएको पत्रमा उक्त दृश्य चलचित्रको कथावस्तुअनुसार प्रचारप्रसारका लागि पूर्वयोजनासहित मञ्चन गरिएको उल्लेख छ ।
निर्देशक अग्रवालले उक्त दृश्यलाई वास्तविक घटनाका रूपमा नबुझ्न र चलचित्रको प्रचारात्मक प्रस्तुतिका रूपमा लिन आग्रह गरेका छन् ।

























