समाचार

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

Banner

लमजुङ, वैशाख २१-

यहाँका पहाडी गाउँगाउँमा केही वर्षअघिसम्म बाटैभरी पाटी पौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, रुखका छहारीमा पौवा र धर्मशाला बनाउने चलन थियो । यसरी चौतारा निर्माण गर्दा, विशेष गरी चैत वैशाखमा घैँटोमा खुदोपानी तथा पानी राख्दा धर्म हुने विश्वास थियो । तर अब ती इतिहास भइसके । कहीँकतै भग्नावशेष मात्रै देख्न पाइन्छन् । पछिल्लो समय त्यस्ता संरचना निर्माण हुनै छाडे । निर्माण भएकासमेत संरक्षण नगर्दा भत्किएर लोप भएका छन् । सडक विस्तारसँगै ऐतिहासिक महत्वका पाटी, पौवा तथा धर्मशाला लोप भएका हुन् ।

दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ८२ वर्षीय बुद्धिमान श्रेष्ठले भन्नुभयो, “केही वर्षअघिसम्म गाउँमा मोटरबाटो थिएन, घरघरमा सबै मान्छे हुन्थे, धर्मकर्ममा बढी आस्था राख्ने चलन थियो, तर अहिले गाउँगाउँमा मोटरबाटो आयो, पहिला मेलापात होस वा कतै जाँदा प्रयोग हुने बाटो प्रयोग हुन छाडे । नयाँ पुस्ताले त्यस्ता कुराको वास्ता नराख्दा यस्ता चौतारा र घैँटोमा पानी राख्ने चलन लोप भयो ।” चैत वैशाखको गर्मीमा प्यास लाग्दा चौतारामा धर्म हुन्छ बटुवाले खाओस् भनेर घैँटोमा सक्नेले महखुदो नसक्नले पानी राख्ने चलन अब नरहेको राइनास नगरपालिका–८ हर्राबोटकी युनिता गुरुङ बताउनुहुन्छ ।

मस्र्याङ्दी गाउँपालिका–३ खुदीका रामबहादुर कार्कीले भन्नुभयो, “चौतारीमा घैँटामा राखिएको पानी गोठाला, बटुवा, खेताला, भरियाले पिउने गर्थे, तर अहिले गाउँघरमै वैशाखमा चौतारीमा ‘धर्मघडा’ राख्ने चलन हरायो ।” भएका चौतारीको पनि संरक्षण हुन छाडेको उहाँ बताउनुहुन्छ ।

परम्पगत चलन संरक्षण गर्न बेँसीसहर नगरपालिका–११, चिती तिलहारका ऋषिराज दवाडी र पत्नी सुमित्रा दवाडीले चौतारोमा माटोको घैँटोमा चिसो पानी राख्नुभएको छ  । संस्कृति जोगाउन र नयाँ पुस्तालाई सिकाउन चौतारीमा पानी राख्ने गरेको दवाडीको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>