देश/प्रदेश
वडामै पुगेर विवाद समाधान गर्दै भीमफेदीको न्यायिक समिति
बागमती, चैत १६-
मकवानपुरको भीमफेदी गाउँपालिकाको न्यायिक समितिले वडा–वडामै पुगेर विवाद समधान गर्दै आएको छ । गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठको संयोजकत्वमा गठित समितिले वडा–वडामा मेलमिलाप केन्द्रमार्फत सानातिना विवाद समाधान गर्दै आएको हो ।
मेलमिलापका माध्यमबाट विवाद समाधान हुन थालेपछि स–साना मुद्दामा अदालत नै धाउनुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ । स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ ।
उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिलाई मानाचामल, सम्बन्धविच्छेद, जग्गा विवाद, घर भाडासम्बन्धी, गाईभैँसीले बालीनाली नोक्सानी गरेको लगायतका विवाद मेलमिलापमार्फत समाधान गर्ने जिम्मेवारी दिइएको छ ।
न्यायिक समितिमा धेरै जसो उजुरी जग्गा विवाद, घर निर्माण खिचौला, लेनदेन, बालीनाली नोक्सानी, घर भाडा, ज्याला मजदुरी सम्बन्धमा आउने गरेको गाउँपालिकाका मेलमिलाप सहजकर्ता कल्पना दुलालले जानकारी दिनुभयो । न्यायिक समितिमा आउने उजुरीलाई स्थानीय जनप्रतिनिधिकै सक्रियतामा मेलमिलाप केन्द्रमार्फत सम्बन्धित पक्षबीच मेलमिलाप गराउने काम न्यायिक समितिले गरिरहेको सहजकर्ता दुलालले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा ४९ नयाँ उजुरी दत्र्ता भएका छन् । सो अवधिमा न्यायिक समितिले २६ उजुरी फछ््र्यौट गरेको उहाँको भनाइ छ । अघिल्लो आव २०८०÷८१ मा १२३ उजुरी दत्र्ता भएकामा ९० उजुरी फछ््र्यौट गरेको थियो ।
बच्चाको भरपोषणसम्बन्धी उजुरी अदालतमा पठाइएको सहकर्ता दुलालले बताउनुभयो । न्यायिक समितिमा आउने उजुरीमध्ये करिब ८० प्रतिशत उजुरी जग्गा विवाद, लेनदेन, मानाचामल, ज्याला मजदुरीसम्बन्धी नै रहेको उहाँको भनाइ छ । रासस
























