देश/प्रदेश
भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामत

वीरगञ्ज(पर्सा), कात्तिक २८ –
सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा रु १६ लाखभन्दा बढीको अवैध सामान बरामत गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेड क्वाटर पर्सा तथा मातहत कार्यालयबाट खटिएको टोलिले आज भारतबाट अवैध रूपमा भन्सार छली विभिन्न सवारीसाधनमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको सो रकम बराबरको अवैध सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गर्नुका साथै नष्ट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले रु एक लाख ४३ हजार ४५१ बराबरको भिटामिन औषधी, विन्दवासिनी गाउँपालिका–३ झौवागुठीस्थित विओपि अमरपट्टीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार ल्याउदै गरेको एक लाख दश हजार बराबरको कपडाहरु बरामद गरि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।
साथै जिल्ला बारा र पर्साको सीमा नजिक छाप्रोमा भन्सार छलि ल्याई कपडाहरु लुकाई छिपाई राखेको विषेश सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण हेड क्वाटर पर्सा र नम्बर १२ गण हेड क्वाटर बाराबाट खटिएको संयुक्त टोलीले खानतलासी गरि नौ लाख ७० हजार बराबरको कपडा बरामद गरि भन्सार बुझाइएको छ ।
त्यसैगरि मातहत कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट रु चार लाख पाँच हजार ५९० बराबरको मोटर साइकल, औषधि, तरकारी, जुत्ता, अगरबत्ती, नरिवल लगायतका विभिन्न सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ । विओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरेको रु १२ हजार बराबरको ६० लिटर घरेलु मदिरा बरामद गरि आवश्यक प्रक्रिया पुर्याइ नष्ट गरिएको छ ।
























