Breaking News

नवलपुरमा भूमाफियाको कब्जामा ७० बिघा जग्गा

Banner

नवलपुर, फागुन २९-

नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं. ४ (साविक शिवमन्दिर क, ख र ग) गरी तीन वटा नक्सामा रहेको १९१ बिघामध्ये करिब ७० बिघा जमिन चलखेल गरेर जिल्लाभन्दा बाहिरका भूमाफियाले कब्जा गरेको पाइएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ, ८०९ घरधुरी रहेको कावासोती–४, हसौरामा पुस्तौँदेखि खनजोत गरेर बसोबास गरिरहेका छ सय घरधुरीको जग्गाधनी पुर्जा अर्कै व्यक्तिको नाममा रहेको पाइएको हो । हसौरामा २० वर्षअघि जग्गा किनेर बसोबास गरिरहनुभएका लोकबहादुर आलेले आफ्नो कित्ता नं. १५९ को जग्गा रुपन्देहीका पर्साबहादुर आलेको नाममा रहेको बताउनुभयो ।

“२० वर्षअघि मैले अर्कै व्यक्तिसँग जग्गा किनेर बसेको थिएँ तर धेरैपछि मात्र थाहा भयो, म बसेको जग्गाको पुर्जा पर्साबहादुर आलेको नाममा रहेछ,” लोकबहादुरले भन्नुभयो, “उहाँ आफू बेलायत बस्नुहुँदो रहेछ, परिवार रुपन्देहीको सुक्खा नगरमा छ भनेर भेट्न त्यहाँ पनि पुग्यौँ तर भेट्न सकेनौँ ।” उहाँका अनुसार पर्साबहादुरबाट मात्र यहाँका १५ घरधुरी परिवार ठगिएका छन् ।

त्यस्तै अर्का स्थानीय गणेश पोख्रेलले पनि झन्डै २२ वर्षअघि अर्कै व्यक्तिबाट जग्गा किन्नुभयो तर उहाँ बसेको जग्गाको पुर्जा यदुनाथ पराजुलीको नाममा छ, पराजुलीको भने निधन भइसकेको छ । कावासोती–४ का अध्यक्ष नारायण लोहनीका अनुसार यसरी पुर्जाविहीन भएका एउटै वडाका छ सय घरधुरी सङ्गठित रूपमा सक्रिय रहेका भूमाफियाबाट ठगिएका छन् । बर्सौंदेखि जोतभोग गरेर बसोबास गरिरहेको भए पनि उनीहरूसँग पुर्जा छैन । अध्यक्ष लोहनीले जिल्लाबाहिरका व्यक्तिहरू क्युप्रसाद बस्याल, यज्ञमूर्ति पाठक, काशीनाथ सापकोटा, ठाकुरप्रसाद शर्मा, पर्साबहादुर आले, यदुनाथ पराजुलीलगायतले अवैधानिक तरिकाले जग्गा कब्जा गरेको आरोप लगाउनुभयो ।

यसरी निकालिएको थियो पुर्जा

विसं २०४९ मा छुट जग्गा दर्ताका लागि नापी आएको थियो । त्यही समय अनियमित तरिकाले शक्तिको आडमा मालपोत अधिकृतको मिलेमतोमा पुर्जा वितरण गरेको वडाध्यक्ष लोहनीको दाबी छ । जसले गर्दा पुर्जा निस्केकाहरूको पनि जग्गा एकातिर, पुर्जा अर्कोतिर भएको देखिन्छ ।

कावासोती नगरपालिकाका विष्णुप्रसाद भुसालले मालपोत कार्यालयका केही कर्मचारीको मिलेमतोमा रातारात पुर्जा निकालेर वितरण गरेको र ती कर्मचारीले अहिले अवकाश लिइसकेको बताउनुहुन्छ । “त्यतिबेला नवलपरासी जिल्ला एउटै थियो र सदरमुकाम परासीबाट यो काम भएको देखिन्छ,” उहाँको भनाइ छ । भूमाफियाले यो ठाउँलाई दोस्रो ललिता निवास बनाएको वडाध्यक्ष लोहनीले तर्क गर्नुभयो ।

जिल्ला टुक्रिएर नवलपुर भइसकेपछि मालपोत कार्यालयको प्रमुख भएर काम गरिसकेका हाल यही जिल्लाका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले केही व्यक्तिले तत्कालीन समयमा कर्मचारीलाई प्रभावमा पारेर काम गरेको हुन सक्ने बताउनुभयो ।

मालपोत कार्यालय कावासोतीले पनि यो जग्गा विवादित रहेको भन्दै गहिरिएर अध्ययन गर्ने बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>