अन्तर्राष्ट्रिय

चीनले बनायो विद्युतीय यात्रुवाहक विमान, चालक दलसहित पहिलो उडान परीक्षण पूरा

०
Banner

काठमाडौ,कात्तिक ३०-

चीनमा विकसित विद्युतीय यात्रुवाहक विमानले गत सप्ताहान्तमा चालक दलसहित पहिलो परीक्षण उडान पूरा गरेको छ । यसलाई चीनको स्वदेशी उड्डयन उद्योगको विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । विमानबाट हुने कार्बन उत्सर्जन नियन्त्रण गर्नु विश्वव्यापी उड्डयन उद्योगका लागि चुनौती बन्दै गएको छ । यस्तो अवस्थामा इन्धनको खपत र वातावरणीय प्रदूषण घटाउन विद्युतीय विमानलाई सम्भावित विकल्पका रूपमा हेरिएको छ ।

विमान निर्माता चिनियाँ सरकारी स्वामित्वको कम्पनी कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक) सम्बद्ध एक पत्रिकाका अनुसार, दुई पाइलट र एक इन्जिनियर सवार सीई–२५ए विमानले १६ मिनेट ३८ सेकेन्ड उडान गरेको थियो । उक्त पत्रिकाका अनुसार शनिबार उत्तरी शानडोङ प्रान्तमा गरिएको परीक्षण उडानका क्रममा विमानले ६० किलोमिटर दूरी पार गरेको थियो ।

पत्रिका तथा सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका दृश्यमा निजी जेटको आकारको रातो रङको विमान धावनमार्गबाट उडेको, केही समय आकाशमा स्थिर रहेको र पुनः अवतरण गरेको देखिन्छ ।प्रतिवेदनअनुसार १० टन तौल भएको उक्त विमानले एक पटकमा ४०० किलोमिटरसम्म उडान गर्न सक्छ भने यसमा १९ यात्रु अट्न सक्छन् ।

यसअघि उक्त विमानले चालक दलबिना १९ वटा परीक्षण उडान पूरा गरिसकेको थियो । यसको पहिलो सफल परीक्षण उडान गत फेब्रुअरीमा भएको थियो ।
यसैबीच, कोम्याकले निर्माण गरेको इन्धनबाट चल्ने सी–९१९ विमानले गत अगस्टमा पहिलो अन्तरराष्ट्रिय व्यावसायिक उडान पूरा गरेको थियो ।

सी–९१९ को विकासलाई बोइङ र एयरबसको दशकौँदेखिको विश्वव्यापी विमान निर्माण क्षेत्रको प्रभुत्वलाई चुनौती दिने चीनको प्रयासका रूपमा हेरिएको छ ।
साँघुरो संरचना भएको सी–९१९ विमानलाई बोइङको ७३७ र एयरबसको ए–३२० का प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरिएको छ । यद्यपि, यसले अहिलेसम्म अमेरिकी वा युरोपेली नियामक निकायबाट उडान सञ्चालनको अनुमति पाइसकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>