Breaking News
पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक रूपमा १ अर्ब ६२ करोड घाटा

काठमाडौं, कात्तिक ३० –
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य हाललाई नबढाउने निर्णय गरेको हो ।
निगमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट कात्तिक २९ गते नयाँ खरिद मूल्य प्राप्त भएको छ । आसन्न चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको कात्तिक २८ गतेको निर्णयअनुसार मूल्य यथावत् राखिएको हो ।
निगमले सार्वजनिक गरेको मूल्यसूचीअनुसार पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १७९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । दोस्रो वर्गमा पेट्रोल १९९ रुपैयाँ र डिजेल तथा मट्टितेल १८१ रुपैयाँ तथा तेस्रो वर्गमा पेट्रोल २०० रुपैयाँ र डिजेल तथा मट्टितेल १८२ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।
निगमका अनुसार मूल्य वर्गीकरणअनुसार पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् । दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन् ।
पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा करिब एक अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने विज्ञप्तिमा उल्लेख छ ।
























