स्वास्थ्य

आँबुखैरेनी अस्पतालमा ‘मौसमी’ बिरामी बढे

Banner

तनहुँ, फागुन २१-

जिल्लाको आँबुखैरेनी अस्पतालमा अहिले मौसमी बिरामी बढेका छन् । अस्पतालमा दैनिक एक सय ५० देखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।

यसअघि अस्पतालमा दैनिक एक सय ५० जनासम्म बिरामी आउने गरेकामा पछिल्लो समय रुघाखोकी, दम, ज्वरो, श्वासप्रश्वास, सुगर, प्रेसरलगायत मौसमी बिरामीको सङ्ख्या बढेको अस्पतालका डा सुपरिटेन्डेन्ट डिबी क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारले निर्धारण गरेका सबै प्रकारका खोप, जनरल ओपिडीदेखि गर्भवती जाँच, सुत्केरी तथा शल्यक्रिलयासम्मको सेवा प्रवाह भइरहेको छ ।”

विपन्न नागरिकको उपचारमा आकर्षण बढ्न थालेको भन्दै डा क्षेत्रीले अस्पतालले विपन्न नागरिकका लागि निःशुल्क उपचार सुविधा प्रदान गरेपछि सेवा लिने आकर्षित हुन थालेका बताउनुभयो ।

अस्पतालका अनुसार गत साउन १ गतेदेखि हालसम्म विपन्न नागरिकको उपचारका लागि रु नौ लाख ११ हजार एक सय ११ खर्च भएको छ । आँबुखैरेनी अस्पतालको विसं २०८० मङ्सिर १ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा उद्घाटनपश्चात् अस्पताल सञ्चालनमा ल्याइएको थियो ।

अस्पतालको उद्घाटनपश्चात् एकपछि अर्को सेवा थप गर्दै नागरिकलाई सहज रूपमा उपचार दिँदै आएको छ । अस्पतालले छोटो अवधिमा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी र फार्मेसी सेवासँगै प्रसूति सेवा, आँखा उपचार र मुख तथा दन्त रोग सेवा सञ्चालनमा ल्याइसकेको छ ।

“सरकारले तोकेका पाँच वटा लक्षित वर्ग गरिब, असहाय, अशक्त, वृद्धावृद्धालाई परिचयपत्रको आधारमा उपचारको ५० प्रतिशत छुटको व्यवस्था छ”, उहाँले भन्नुभयो, “कति पनि शुल्न तिर्न नसक्ने व्यक्तिका लागि पूरै उपचारमा निःशुल्क गरिएको छ ।” नागरिकका स्वास्थ्य सेवाका लागि गाउँपालिकाले अन्य सेवा सुविधा थप गर्ने कार्यमा अघि बढिरहेको गाउँपालिकाले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिकाअन्तर्गत सञ्चालित आँबुखैरेनी अस्पतालले छ महिनाको अवधिमा १४ हजार पाँच सय ८३ जना बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालले आपतकालीन ९इमर्जेन्सी० सेवा चार हजार तीन सय ७३ बिरामीलाई सेवा दिएको छभने छ सय ५२ बिरामीलाई भर्ना गरेर उपचार गरेको छ ।

अस्पतालले बिरामी दर्ताबाट छ लाख ६० हजार पाँच सय १० आम्दानी गरेको छभने सेवातर्फको आम्दानी रु ७७ लाख ९९ हजार दुई सय ६४ पुगेको जनाएको छ । उहाँका अनुसार अस्पतालले सञ्चालन गरेको फार्मेसी सेवाबाट मात्रै रु २४ लाख ४२ हजार एक सय ५६ आम्दानी गरिसकेको छ ।

अस्पतालबाट आँबुखैरेनी गाउँपालिकाका साथै छिमेकी पालिका र जिल्लाबाट सेवा लिइरहेका गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको बन्दीपुर, भानु नगरपालिका, छिमेकी जिल्ला गोरखाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका र चितवनको इच्छाकामना गाउँपालिका क्षेत्रबाट नागरिक स्वास्थ्य सेवा लिन आउने गरेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>