Breaking News

माडीको बघौडा अस्पतालमा गम्भीर आर्थिक बेथिति, सरकारी अस्पतालको आम्दानी व्यक्तिको खातामा

०
Banner

चितवन, कात्तिक २८-

माडीको बघौडा अस्पतालको सेवा प्रवाह र आर्थिक पारदर्शिताको विषयमा गम्भीर प्रश्न उठेको छ। बघौडा अस्पताल माडी नगरपालिका अन्तर्गतको सरकारी नगर अस्पताल हो । सरकारी अस्पतालको आम्दानी अमुक व्यक्तिको खातामा जम्मा हुनु गम्भीर बेथिति हो ।

माडी नगरपालिका–२ का बासिन्दा शङ्कर पाण्डेले तिहारको दिन आफ्नो ७ वर्षीय भतिज अर्जुन पाण्डेको आकस्मिक उपचारका क्रममा बघौडा अस्पताल लगेका थिए । उनले टिकटको ५० रुपैयाँ र औषधीको ६२० रुपैयाँ गरी कुल ६७० रुपैयाँ क्युआर मार्फत तिरे । तर उक्त रकम अस्पतालको आधिकारीक खातामा नभई व्यक्तिको खातामा जम्मा भएको थियो ।

‘मैले अस्पतालको बैंक खाता छैन ? भनेर जिज्ञासा राख्दा सम्बन्धित व्यक्तिले आफ्नो नाममा बिल उठ्ने र पछि अस्पतालमा रकम बुझाउने गरेको बताउनुभयो। मैले निकै जिद्दी गरें, यस्तो त भएन नि, कम से कम क्युआर नभए पनि बैंक खाता त दिनुहोस् भनेर अनुरोध गरें तर उपलब्ध भएन’, पाण्डेले भने ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले चाडपर्वको समयमा पनि खटिएर दिएको सेवा र तत्परताप्रति कृतज्ञता व्यक्त गर्दै पाण्डेले अस्पतालको आर्थिक कारोबारमा भने गम्भीर बेथिति देखिएको बताए । कुनै पनि सरकारी संस्थाको राजस्व वा आम्दानी व्यक्तिगत खातामा लिनु कानुनी रूपमा दण्डनीय र गैरकानुनी कार्य हो ।

सामान्य चोटपटकको उपचारका लागि समेत आवश्यक पर्ने एन्टिबायोटिक औषधि अस्पतालभित्रको फार्मेसीमा नपाएर बाहिरका औषधि पसलमा धाउनुपर्ने बाध्यता छ। आकस्मिक सेवामा प्रयोग हुने अत्यावश्यक औषधिहरूको नियमित मौज्दात सुनिश्चित गर्नुपर्ने उनले सुझाए ।

माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले अस्पतालको आम्दानी व्यक्तिको खातामा जम्मा भएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताइन् । सिस्टम नहुँदा अहिलेसम्म अस्पतालका कर्मचारीले आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गर्ने र १५-१५ दिनमा अस्पतालको खातामा जम्मा गर्ने गरेको उनले स्वीकार गरिन् ।

‘आर्थिक अनियमितता हुनु हुँदैन । नगरपालिकाभित्र पनि यो कुरालाई मैले नियन्त्रण गरिरहेको छु । बघौडा अस्पतालको कुरा उठेको छ । यसलाई हामी चाँडै नै सिस्टममा लैजान्छौँ’, उनले भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>