प्रवास
भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

नयाँदिल्ली,कात्तिक२८ –
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा बन्दुकधारी समूहले सवारीसाधनमाथि गोली प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ। घटनामा मृत्यु हुनेहरू नागा समुदायका सर्वसाधारण रहेको प्रहरीले जनाएको छ।
शुक्रबार मणिपुरको उखरुल जिल्लास्थित नेसनल हाइवे–२०२ मा पर्ने न्यु हेभननजिकै दुईवटा सवारीसाधनमाथि आक्रमण भएको हो। उक्त स्थान राज्यको राजधानी इम्फालबाट करिब ८२ किलोमिटर उत्तरपूर्वमा पर्छ।
प्रहरीका अनुसार दुईवटा सवारीसाधनमा सवार नागा समुदायका नागरिकहरू इम्फालतर्फ जाँदै गर्दा बन्दुकधारीहरूले उनीहरूमाथि गोली प्रहार गरेका थिए। आक्रमणपछि घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
घटनालगत्तै थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरी, सीमा सुरक्षा बल ९बीएसएफ०, भारतीय सेना तथा असम राइफल्सका सुरक्षाकर्मीलाई घटनास्थल र आसपासका क्षेत्रमा खटाइएको छ।
आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न घटनास्थल तथा आसपासका क्षेत्रमा खोजी अभियानसमेत सञ्चालन गरिएको प्रहरी प्रवक्ताले बताएका छन्।
घटनापछि थप अप्रिय घटना हुन नदिन सुरक्षा निकायले निगरानी र सुरक्षा व्यवस्था मजबुत बनाएको छ। आक्रमणमा संलग्न व्यक्तिहरूबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
























