स्वास्थ्य

हिउँदयाममा वायु प्रदूषणबाट घाँटीमा समस्या हुन्छ ? अपनाउन सकिन्छ यी पाँच घरेलु उपाय

०
Banner

काठमाडौँ ,कात्तिक २८ –

हिउँदयाम सुरु भएसँगै वायु प्रदूषणको समस्या तीव्र रूपमा बढ्न थाल्छ।

हावामा रहेका धुलोका कण र प्रदूषक तत्त्वहरूको सम्पर्कमा आउनाले धेरैजसो मानिसलाई घाँटी सुक्खा हुने, खसखसाउने, खोकी लाग्ने तथा पोल्ने समस्या हुन सक्छ।

यस्तो अवस्थामा भान्सामा उपलब्ध केही घरेलु सामग्रीले घाँटीलाई राहत दिन मद्दत पुर्‍याउँछन्। ‘बेसार मिसाइएको दुध’, ‘अदुवा’, ‘तुलसी’ र ‘सख्खर’ (गुँड) जस्ता वस्तुहरू लामो समयदेखि घरेलु उपचारका रूपमा प्रयोग गरिँदै आइएका छन्।

तर, यी उपायहरूले केवल अस्थायी राहत मात्र दिन्छन् र यिनलाई प्रदूषणको असर पूर्ण रूपमा मेटाउने वा श्वासप्रश्वाससम्बन्धी रोगको मुख्य उपचार मान्न सकिँदैन भन्ने कुरामा ध्यान दिनुपर्छ।

१.बेसारपानी र बेसार मिसाइएको दुध

हाम्रा घरहरूमा बेसारको प्रयोग परम्परागत कालदेखि नै हुँदै आएको छ। बेसारमा ‘कर्क्युमिन’ नामक तत्त्व पाइन्छ, जसमा एन्टी(इन्फ्लेमेटरी गुण हुन्छ। घाँटी सुक्खा भएको वा हल्का खसखसाएको महसुस भएमा एक कप तातो दुधमा एक चिम्टी बेसार मिलाएर पिउन सकिन्छ।

दुध नपिउने व्यक्तिहरूले मनतातो पानीमा थोरै बेसार मिसाएर सेवन गर्न सक्छन्। यसले घाँटीलाई न्यानोपन र आराम दिन्छ। यद्यपि, बेसारलाई प्रदूषणबाट निम्तिने समस्याको स्थायी समाधान भने ठान्नुहुँदैन।

२. अदुवा र तुलसी

रुघाखोकीको घरेलु उपचारमा अदुवा र तुलसीको प्रयोग निकै सामान्य हो। अदुवामा पाइने केही विशेष यौगिकहरूमा सुजन कम गर्ने गुण रहन्छ। अदुवाको सानो टुक्रालाई पानीमा उमालेर चियाको रूपमा पिउन सकिन्छ। स्वादका निम्ति यसमा थोरै मह मिसाउन सकिन्छ।

त्यस्तै, तुलसीका केही पातहरूलाई पानीमा उमालेर पिउँदा पनि घाँटीको समस्यामा लाभ मिल्छ। एक वर्षभन्दा कम उमेरका बालबालिकालाई मह खुवाउनुहुँदैन भन्ने तथ्यमा भने विशेष ध्यान पुर्‍याउनुपर्छ।

३. मरिच र ज्वानो

कालो मरिच र ज्वानो पनि परम्परागत घरेलु उपचारका रूपमा प्रयोग हुँदै आएका छन्। मनतातो पानी वा हल्का काँढामा थोरै कुटेको मरिच मिसाएर पिउन सकिन्छ। यस्तै, ज्वानो पानीमा उमालेर मनतातो पिउन सकिन्छ। तातो पानीको बाफ लिँदा पोल्ने जोखिमबाट बच्नुपर्छ र उम्लिरहेको पानीको भाँडोमा अनुहार सिधै नजिक लैजानुहुँदैन।

४. सख्खरको प्रयोगबाट घाँटीलाई आराम

हिउँदयाममा सख्खरको सेवन निकै लोकप्रिय मानिन्छ। घाँटीमा हल्का सुक्खापन देखिँदा सख्खरको सानो टुक्रा मुखमा राखेर बिस्तारै चुस्न सकिन्छ वा मनतातो पानीमा घोलेर पिउन सकिन्छ। कतिपय व्यक्तिहरूले सख्खरसँग अदुवा वा एक चिम्टी बेसार पनि लिने गर्छन्। यसले शरीरलाई न्यानोपन त दिन्छ, तर सख्खरले फोक्सो सफा गर्छ वा प्रदूषणको असर नष्ट गर्छ भन्ने कुनै ठोस वैज्ञानिक प्रमाण छैन। यस्तै, मधुमेहका बिरामीले सख्खरको सेवन सीमित गर्नुपर्छ।

घरेलु उपायसँगै ध्यान दिनुपर्ने थप कुराहरू

स्मग र प्रदूषणको मौसममा केवल घरेलु उपायमा मात्र भर पर्नु बुद्धिमानी हुँदैन। प्रदूषणको स्तर अत्यधिक भएको समयमा अनावश्यक रूपमा बाहिर निस्कनबाट जोगिनुपर्छ। बाहिर निस्कनै परेमा मुख राम्रोसँग छोपिने मास्क लगाउनुपर्छ। पर्याप्त मात्रामा पानी पिउनुपर्छ र घरभित्र धुलो जम्न दिनुहुँदैन। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>