स्वास्थ्य

जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ‘स्क्रिनिङ’ गरिँदै

Banner
जुम्ला, फागुन १४-
जिल्लाको जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन तिला गाउँपालिकाले ‘स्क्रिनिङ’ सुरु गरेको छ । स्वास्थ्य शाखाले पालिकाको जुम्लाकोट स्वास्थ्य चौकीमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन निःशुल्क ‘स्क्रिनिङ’ शिविर सञ्चालन गरेको हो ।
विशेषज्ञ स्वास्थ्यकर्मीसहितको टोली मङ्गलबार तिलाका ग्रामीण स्वास्थ्य चौकीमा पुगेर ‘माइक्रोस्कोपी स्क्रिनिङ’ शिविरमार्फत नयाँ बिरामी तथा पुरानाको अवस्था पत्ता लगाउन खोजपड्ताल अभियान सञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका टिबीरोग सम्पर्कव्यक्ति उत्तम देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार करिब एक सय आठ जनाको स्वास्थ्य जाँच गरिएको छ ।
देवकोटाले भन्नुभयो, “रिपोर्ट आउन दुई दिन लाग्ने छ । जनस्वास्थ्य सेवा कार्यालयबाट टिबीरोग हेर्ने स्वास्थ्यकर्मीसहितको टोलीले यहाँका सम्भावित क्षयरोगका बिरामीको स्वास्थ्य जाँच गरेको हो ।” गाउँपालिकाका स्वास्थ्यकर्मी गाउँमा पुगेर बिरामी पहिचानसहित स्वास्थ्योपचार सेवा र आवश्यक सल्लाह दिन क्षयरोगसम्बन्धी निःशुल्क शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ ।
पालिकाभित्र अहिलेसम्म नौ जना नयाँ क्षयरोगका बिरामी फेला परेपछि सबैलाई  स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गराइएको देवकोटाले बताउनुभयो । क्षयरोग मुक्त पालिका बनाउने उद्देश्यले प्रत्येक वर्ष गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयको स्वास्थ्य गरिँदै आइएको उहाँले उल्लेख गर्नुभयो ।
क्षयरोग सुक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग हो । स्वास्थ्यप्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी बढिरहेका पाइन्छन् ।
तिलामा मदिरा बिक्री तथा सेवन गर्नेलाई कारबाही
जुम्लाको तिला गाउँपालिका–५ ले वडामा मदिरा बिक्रीवितरण गर्ने तथा सेवन गर्नेलाई कारबाही गर्ने भएको छ । वडाभरिमा मदिरा बिक्रीवितरण बढ्दै गएको जनगुनासो आएपछि मङ्गलबार बसेको वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको संयुक्त बैठकले बिक्रीवितरण तथा सेवनमा रोक लगाएको हो ।
वडाभरिमा मदिरा बिक्रीवितरण गर्ने र खानेलाई कानुनअनुसार जारिवाना तिराउने निर्णय गरिएको वडाध्यक्ष ललित शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “वडाको निर्णय अटेर गर्नेलाई कानुनबमोजिम सजाय हुनेछ ।” वडामा मदिराका कारण विभिन्न किसिमका घटना तथा घरेलु हिंसा बढेको गुनासो आउन थालेपछि उक्त निर्णय गरिएको उहाँको भनाइ छ ।
विसं २०७९ असार ३१ गते बसेको वडासभाको बैठकले मदिरा तथा जुवातासमुक्त विधेयक पारित गरेको थियो । वडाध्यक्ष शाहीले भन्नुभयो, “मदिरा सेवन र बिक्री गर्नेदेखि जुवातास खेल्ने र खेलाउनेलाई सचेत लगाउनका लागि अहिले गाउँबस्तीमा सूचना जारी भइसकेको छ ।”
वडा समिति तथा सम्पूर्ण सरोकार भएका निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, समाजसेवी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, बाल क्लब, युवा क्लब, आमा समूहको संयुक्त बैठकबाट उक्त निर्णाय भएको वडाध्यक्ष शाहीले बताउनुभयो ।
वडालाई बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक पर्ने ५१ सूचक पूरा गरी अगामी चैतभित्र बालविवाहमुक्त वडा घोषणा गर्नेगरी वडा कार्यालयले कार्य गरिरहेको छ ।
आगामी २०८२ को असारभित्र बालमैत्री स्थानीय शासन वडा घोषणासमेत गर्ने गरी काम अघि बढाइएको वडाध्यक्ष शाहीले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा प्रहरी, प्रशासन तथा स्थानीय तहले आ–आफ्ना क्षेत्र र वडामा मदिरा नियन्त्रण अभियान सञ्चालन गरिरहेका छन् । वडामा मदिरा न्यूनीकरण समिति गठन गरी अभियान सञ्चालन भइरहेका जनाइएको छ ।  रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>