राजनीति
विश्वविद्यालयमा दलीय भागबन्डा मान्य छैन:नेविसंघ

काठमाडौं, माघ १२-
नेपाली कांग्रेससम्बद्ध विद्यार्थी संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयमा दलीय भागबन्डा स्वीकार्य नरहेको बताएका छ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार विज्ञप्ति जारी गरेर विश्वविद्यालय अन्तर्गतका विभिन्न संकाय, विभाग तथा अन्य निकायमा दलीय भागबन्डाका आधारमा डीन, निर्देशक, सह परीक्षा नियन्त्रक र क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै त्यसबारे विरोध जनाएका हुन्।
दलीय भागबन्डामा नियुक्त गरिएको विषयमा नेविसंघको गम्भीर ध्यानाकर्षण भएको पनि अध्यक्ष शेर्पाले उल्लेख गरेका छन्।
‘योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धामार्फत विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्न विभिन्न कार्यविधि, मापदण्ड, नियमहरू तर्जुमा एवं संशोधन भएकोमा कानूनको छिद्रहरूबाट आफ्नो दलीय स्वार्थ पुरा गर्ने परिपाटी अझै अन्त्य नहुनुले नेविसंघ सशक्त ढंगले निर्णायक आन्दोलनमा होमिनुपर्ने अवस्था आएको अध्यक्ष शेर्पाले बताएका छन्।


























