राजनीति
अनुशासन आयोग प्रमुखबारे मुकुलः रास्वपाका ‘भाइरस’

काठमाडौं, माघ ४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले पार्टीभित्र ‘भाइरस’ सक्रिय रहेको दाबी गर्दै अनुशासन आयोगका संयोजक भरतमणि देवकोटामाथि गम्भीर आरोप लगाएका छन्।
ढकालले फेसबुकमार्फत सार्वजनिक गरेको अभिव्यक्तिमा देवकोटाले व्यक्तिगत स्वार्थका लागि पार्टीलाई दबाब दिएको र राजदूत पद नपाएपछि पार्टीविरुद्ध दुषित राजनीति थालेको बताएका हुन्। ‘पार्टीलाई ऋणमा डुबाएर एकपक्षीय निर्णय गराउँदै हिँड्ने देवकोटाको योजना असफल हुनेछ। घरबेटी बा, तपाईंको दुषित राजनीति सफल हुन दिनेछैनौँ,’ उनले लेखेका छन्।
ढकालले देवकोटालाई आफ्नो सिफारिसमा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सचिवालय प्रमुख बनाइएको तर पछि उनले अनुशासन आयोगको जिम्मेवारीलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गरेको आरोप लगाए। उनले भने, “राजदूतको भागबन्डामा आफूलाई समेट्न अड्डी कसेर पार्टीलाई दबाब दिए। राजदूत नपाएपछि ममाथि मिडियामा आरोप लगाउँदै पार्टीलाई बदनाम गर्न खोजे।”
ढकालले देवकोटामाथि पार्टीलाई आर्थिक समस्यामा धकेल्दै ऋण देखाएर एकपक्षीय निर्णय गरिरहेको आरोप पनि लगाए। ‘पार्टी कार्यालयको घरबेटी भएर पार्टीलाई ऋण थुपार्दै दुषित राजनीति गरिरहेका छन्,’ उनले भने।

























