राजनीति
दुईतिहाई बहुमतको सरकारले जनताको आँखामा छारो हाल्ने काम गरेको छः सुमना श्रेष्ठ
काठमाडौं, पुस २७-
प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले दुईतिहाई बहुमतको सरकारले जनताको आँखामा छारो हाल्ने काम गरेको बताएकी छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत संसद्लाई बन्दी बनाएर सरकारले ल्याएको अध्यादेश आफूहरूलाई स्वीकार नहुने बताएकी हुन्।
सरकारको कामकारबाहीप्रति प्रश्न उठाउँदै उनले दलीय कर्मचारी संगठनको खारेजीजस्ता ठूला निर्णय गर्नुपर्ने सरकार कागजपत्र मात्र उचालेर व्यवहारिक समाधान दिन नसकेको बताइन्। ‘दुईतिहाईको सरकार आफ्नै, कर्मचारी संगठनहरू आफ्नै, डेलिभरी दिन नसक्ने पनि आफै, अनि कर्मचारीले काम गरेन भन्ने पनि आफै। तर, “हामी कर्मचारीसँग जुधिरहेका छौँ” भन्दै जनताको आँखामा छारो हाल्ने काम गरिरहेको छ,’ उनले भनिन्।
सरकारले ल्याएको ‘७ दिनभित्र फाइल टुंग्याउने’ विषयलाई अव्यावहारिक ठहर गर्दै श्रेष्ठले भनिन्, ‘हरेक फाइल टुंग्याउन ७ दिन नै लाग्छ भन्ने पनि होइन, ७ दिनभित्र अध्ययन गर्न सकिन्छ भन्ने पनि छैन। कुनै आयोजनाको डिपीआर ७ दिनभित्र कसरी अध्ययन हुन्छ रु यो त कुनै मिडिया हाउसले पत्रकारलाई “हरेक ७ दिनमा अनुसन्धानात्मक रिपोर्ट बनाऊ” भनेको जस्तै भयो।’
श्रेष्ठले संसद् छलेर ल्याइएका अध्यादेशलाई लोकतन्त्रको मजाक भन्दै सरकार संसद् र जनताको प्रतिक्रियासँग डराएर भागिरहेको आरोप लगाइन्। ‘मध्यरातको अन्धकारमा बनेको सरकारले मध्यरातकै अन्धकारमा अध्यादेश ल्याएको छ,’ उनले भनिन्।