खेलकुद
एनपीएलको दोस्रो क्वालिफायरमा आज जनकपुर र कर्णाली भिड्दै
काठमाडौं, पुस ४-
नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्सले एलिमिनेटर विजेता कर्णाली याक्ससँग प्रतिष्पर्धा गर्दै छ । आज हुने दोस्रो क्वालिफायरको विजेताले फाइनलमा प्रवेश गरेको सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि खेल्नेछ।
जनकपुर र कर्णालीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे शुरु हुनेछ।
बलियो प्रतिद्वन्द्वी मानिएको जनकपुरलाई पहिलो क्वालिफायरमा हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो। सुदूरपश्चिमविरुद्ध जनकपुरको यो लगातार दोस्रो पराजय हो।
यसअघि लिगमा पनि सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो। प्लेअफमा पनि सुदूरपश्चिमले विजययात्रा कायमै राख्यो। लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
कर्णालीले पनि बुधवार नै इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित पारेको हो। कर्णालीले इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गरेको हो।